Logo
६ जेष्ठ २०८१, आईतबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमै लोपोन्मुख मानिएको हाब्रेसम्बन्धी पढाइ इलाममा शुरु

इलाम : विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुनेस्थितिमा पुगेको छ ।

उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा पठाइ शुरु गरिएको छ । विद्यालयस्तरदेखि नै हाब्रेसम्बन्धी जानकारी गराउन सक्दा उचित संरक्षण हुने भएकाले पढाइ शुरु गरिएको यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताए । विशेष गरी कक्षा ६ र ७ का विद्यार्थीका लागि हाब्रेसम्बन्धी जानकारी दिन लागिएको हो ।

खाम्दाकका अनुसार विद्यालयमा हाब्रेसम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तु लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ। जिल्लाका सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेका राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालय र सन्दकपुर गाउँपालिकाकै माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा पढाइ शुरु गरिएको हो । यसै वर्ष थप चार विद्यालयमा समेत पढाइ शुरु गरिने तयारी गरिएको छ ।

रेडपाण्डा नेटवर्कका अनुसार जिल्लामा ३० देखि ३५ वटा हाब्रे रहेकोे तथ्याङ्क छ । तर, जिल्लामा हाब्रेसम्बन्धी जनचेतना नभएको र कुकुरलगायतका जीवजन्तुबाट जोगाउन नसक्दा भएका हाब्रेसमेत जोखिममा परेका छन् । केही महिनाअघि मात्र इलाम नगरपालिकाको पुवामझुवामा कुकुरले शिकार गरेको अवस्थामा एक हाब्रे फेला परेको थियो ।

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्