Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार राष्ट्रप्रमुख आजै फर्कने : धर्मशालाको उद्घाटन र गौशालाबाट विशेष सम्बोधन गर्ने मोदीको कार्यक्रम

काठमाडौँ : बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आज शुक्रबार नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज नै फर्किनेछन् ।

त्यस्तै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शनिबार फर्कने छन् । उनी लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री केपी ओली र उनीबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ ।

चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए ।

बिहीबार उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गर्दै दिवाभोज दिएकी थिइन् । भोजलगत्तै सोल्टी होटलमा उपस्थित भइ उनीहरुले शिखर सम्मेलनमा उद्घाटन मन्तव्य राखेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्रीका लागि २२ मिनेट र अन्य राष्ट्रका कार्यकारी प्रमुखका लागि १५/१५ मिनेको समय छुट्याइएको थियो ।

सम्मेलनमा सम्बोधन गरेलगत्तै उनीहरु बौद्धस्थित हायात होटल पुगे । नेपालका प्रधानमन्त्री ओलीले रात्रिभोजको आयोजना गरेका थिए । भोजमा नेपालस्थित कूटनितिक नियोगका उच्च अधिकारीहरु, केही परराष्ट्रविद् तथा सरोकारवाला अधिकारीसमेत सहभागी भएका छन् ।

भारतसँग छुट्टै सम्झौता
रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् ।

उक्त हस्ताक्षर र घोषणापत्र जारीपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी छ ।

परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री मोदी गौशला स्थित नवनिर्माण गरिएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी उद्घाटन लगत्तै उनी पशुपतीनाथ मन्दिरमा गई विषेश पुजा समेत गर्नेछन् । त्यसपछि मात्र उनी स्वदेश फर्किनेछन् ।

धर्मशालाको उद्घाटन गर्ने बेलामा उनी विशेष सम्बोधन समेत गर्नेछन् । उनले नेपाली भाषामा भााषणको सुरुवात गर्दे आफ्ना मनतब्य राख्ने बताइएको छ । भारतीय सेनाको विशेष विमानबाट उनी स्वदेश फर्किनेछन् । ३६ जनाको ओफिसियल भारतीय टोलीको नेतृत्व गर्दै उनी हिजो बिहान नेपाल आएका थिए ।

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्