Logo
१८ बैशाख २०८१, मंगलबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकदिवसीय अन्तिम खेलमा नेपाल आज नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै

काठमाडौं : आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै । पहिलो खेल गुमाइसकेको अवस्थामा यो खेलले नेपालका लागि एकदिवसीय खेलको पहिलो जित हात पार्ने र जारी शृंखला जोगाउने अवसर जुराइदिएको छ।

शुक्रबारको खेलमा नजिता आफ्नो पक्षमा पार्न सकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यताप्राप्त एकदिवसीय खेलमा नेपालले पहिलो जित मात्रै हात पार्नेछैन, नेदरल्यान्ड्सविरुद्ध जारी दुई खेलको शृंखला १-१ को बराबरीमा टुंग्याउनेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेट खेल्ने अवसर प्राप्त गरेको नेपालका लागि यो ठूलो उपलब्धि बन्नेछ ।

नेपाल बुधबार भएको आफ्नो पहिलो एकदिवसीय खेलमा भने नेदरल्यान्ड्ससँग ५५ रनको भारी अन्तरले पराजित भएको थियो । पहिले बलिङ गर्दै नेदरल्यान्ड्सलाई एक सय ८९ रनको सहज योगफलमा समेटेको नेपालले कमजोर ब्याटिङ गर्दै एक सय ३४ रनमा सबै विकेट गुमाएर ५५ रनको पराजय बेहोर्न पुगेको थियो ।

भरपर्दा ब्याट्सम्यान आरिफ सेखसहित नेपालका चार खेलाडी कुनै रन नजोडी आउट हुन पुगेका थिए । त्यसैले शुक्रबारको खेलमा जितका लागि नेपालले आफ्नो कमजोर ब्याटिङ प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ । पहिलो खेलको प्रदर्शनमा नेपालको बलिङ र फिल्डिङ सन्तोषजनक देखिएको छ। पहिलो खेलमा कप्तान पारस खड्कासहित नेपाली मध्यम गतिका बलरहरूले आठ विकेट लिएर आफ्नो प्रभावकारिता देखाइसकेका छन्।

त्यसमा सन्दीप लामिछाने र वसन्त रेग्मीजस्ता स्पिनरले पनि बलियो साथ दिनेछन्। त्यसैले दोस्रो खेलमा ब्याटिङमा सुधार ल्याउन सकेको अवस्थामा नेपालले आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलालाई साँच्चिकै ऐतिहासिक बनाउन सक्नेछ। नेपालले शुक्रबारको खेलमा आफ्नो ब्याटिङ क्षमता बढाउन अर्को एक ब्याट्सम्यानलाई मैदानमा उतार्न सक्नेछ।

पहिलो खेलको कमजोर प्रदर्शन र भरपर्दा ब्याट्सम्यान शरद भेषावकरको चोट ठीक नभएको अवस्थामा शुक्रबार नेपाली टोलीबाट अर्का एक ब्याट्सम्यानले एकदिवसीय खेलमा डेब्यु गर्ने अवसर प्राप्त गर्ने निश्चित छ ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्