Logo
२३ बैशाख २०८१, आईतबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वहार वर्गको हितमा नभई ओली सरकार विचौलियाहरुको अधिनायकत्वमा

काठमाडौं, १६ साउन : नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् । शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयूक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक धमलाले सर्वहार वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाहरुको अधिनायकत्वमा रहेको दाबी गरेकी छिन् ।

उनले भनिन्,‘वर्तमान सरकार संविधानको कार्यान्वयन र मौलिक हकसम्बन्धी कानून निर्माण गरेर जनताका हक सुनिश्चित् गर्नुपर्ने कार्यभारलाई थाँती राख्दै नाफा, सेवा, सुविधा सत्ता एकाधिकारको विधि निर्माणमा लागिरहेको देखिन्छ । पानीजहाज, मोनो रेलजस्ता महत्वकांक्षी योजनाहरु बाँड्ने तर व्यवहारमा राजधानीको सडकमा भएका खाल्डासम्म पुर्न सकेको छैन । भूकम्प गएको बर्षौ बितिसक्दा पनि पाल मुनिको जिन्दगी काटिरहेका जनतालाई उचित राहतको व्यवस्था गर्न सकेन । जनपक्षीय नारा दिएर चुनाव जितेको नेकपाले सत्ताको सिण्डिकेट लगाएर जनतामाथि अन्याय गरिरहेको छ ।’

ओली सरकारले पछिल्लो समय मुल्यबृद्धि, करमा बृद्धि, बलात्कारका घट्नामा २२ प्रतिशतले बृद्ध्जिस्ता उपहारहरु जनतालाई थमाउने काम गरेको आरोप समेत उनले लगाईन् । उनले भनिन्,‘सरकार भए/नभएको कुनै महसुस छैन् । सरकार प्रत्येक कदम कदममा प्रतिगमनकारी बन्दै गईरहेको छ । दुई तिहाईको घमण्डले अरुका कुराहरु सुन्ने सरकारलाई फुर्सद छैन् । अहिले विपक्षी दलहरुले जारि राखेको आन्दोलन सरकारले आफै गर्न लगाएको हो । हामीले अहिले देखिएका समस्याहरुलाई मागको रुपमा अघि सोरेर ध्यानाकर्षण गरेका छौं, मागहरु सम्बोधन नभए हामी सडकमा आउन पनि बाध्य हुनेछौं ।’

उनले अघि थपिन,‘पत्रकारहरुले प्रश्न सोधेको भरमा जागिरबाट हटाउने, अहिले बोल्ने/लेख्न छुट छैन्, वाईड बडीका जहाज खरिद गरेको विषयमा पत्रकारले प्रश्न सोध्दा पर्यटनमन्त्री उठेर हिँड्ने, विपक्षी दलहरुमाथि बन्देज लगाउने खालका क्रियाकलापहरु गर्ने । आन्दोलनका लागि स्थान तोक्नु भनेको अन्य राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाउनु नै हो।’

विभागद्धारा जारी एक विज्ञप्तीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानविन गर्नुपर्ने, ठेकेदारमाथि कारबाही गर्नुपर्ने, सुनकाण्डको छानबिनलाई तत्काल निश्कर्षमा पुर्याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मुल्यबृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानविन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।

नयाँ शक्ति पार्टी नेपालले उठाएका मागहरुमा एक्येवद्धता जनाउँदै राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक जेबी शाहले सरकार सञ्चालन गरिरहेको नेकपा पार्टीलाई सर्वहाराको पार्टी भन्न नमिल्ने स्पष्ट पारे । उनले भने,‘नयाँ शक्ति पार्टीले उठाएका हरेक मागहरु जनपक्षीय छन् । हाम्रो मोर्चाको पूर्ण समर्थन रहेको छ, तत्काल जनतामा देखिएको निराशा र अभाव, पीडामाथि मल्हम लगाउने काम सरकारले गरेन भने आन्दोलन हुन्छ ।’

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका विज्ञ परिषदका संयोजक डा. केशवमान शाक्य, गण्डकी प्रदेशका प्रदेश सांसद हरिशरण आचार्य, विज्ञ परिषद सदस्य दुर्गा न्यौपाने, तिमिला यमी, संरक्षक परिषद राजु नेपाली, परिवर्तन भट्टराई लगायतले सरकारको खरो बिरोध गरेका थिए ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्