Logo
१९ बैशाख २०८१, बुधबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ वर्षपछि नेपालको पहिलो एक दिवसीय खेल आज

काठमाडौं, १६ साउन : आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।

त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महत्वपुर्ण बनेको छ । नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै सिजन फेरि एक दिवसीय टोलीको रूपमा फर्किएको नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृंखला खेल्न लागेको हो ।

त्यसका लागि नेपाली टोली नेदरल्यान्ड्स पुगिसकेको छ । घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने बिहीबार खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृंखला खेलेर आफ्नो पहिलो एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।

नेपालले लर्डस्मा एमसीसीविरुद्ध ६ ओभरको खेल खेलेको थियो । आईसीसीबाट टीट्वेन्टी खेलको मान्यतासमेत प्राप्त गरेको नेपालको नेदरल्यान्ड्स विरुद्धको खेल भने वर्षाका कारण अवरुद्ध बनेको थियो । त्यसअघि नेपालले लन्डनमा त्यहाँका स्थानीय क्लबसँग केही अभ्यास खेलसमेत खेलेको थियो ।

नेपालले यसअघि सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध आर्मसटेलभिनस्थित भीआरए मैदानमै दुई खेल खेलेको थियो । पहिलो खेलमा सात विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने नेपालले १९ रनको जित हात पारेको थियो । नेपालले नेदरल्यान्ड्सलाई ५० ओभरको क्रिकेटमा पराजित गरेको पनि त्यही अन्तिम अवसर थियो । नेपाली टोलीले बुधबार सोही मैदानमा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दा जितको अपेक्षा गरिएको छ ।

५० ओभरको क्रिकेटमा नेपालविरुद्ध नेदरल्यान्ड्स

कुल खेल : ५

नेपाल विजयी : २

नेदरल्यान्ड्स विजयी : ३

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्