Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै

आठराई : फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीचभागमा रहेको ३६५ मिटर अग्लो सो झरनासँगै रमाउनेको संख्या दिन प्रतिदिन बढ्दैगएको छ । झरना हेर्न विभिन्न जिल्लाबाट दैनिकरुपमा आन्तरिक पर्यटक आउने क्रम बढेको यात्रुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सीना बताउछन्।

“समयमै वर्षात् भएपछि झरनामा पानीको मात्रा बढेकाले पर्यटक आकर्षित भएका छन्,” उनले भने । झरना हिउँदयाममा सुक्खा रहे पनि वर्षात्को समयमा अत्यन्तै आकर्षक र मनमोहक देखिन्छ ।

फुर्सदको समय तथा बिदाको दिनमा झरना हेर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका तिम्सिनाले बताए । जिल्लाकै आर्थिक समृद्धिका लागि ठूलो सम्भावना बोकेको ह्यात्रुङ झरना, विकास, संरक्षण, संवद्र्धन र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

सुक्खा याममा पानी नहँुदा झरनाको अस्तित्व संकटमा पर्ने भएकाले झरनामा बाह्रै महिना पानी झार्नका लागि आर्थिक वर्ष २०७४÷७५ मा रु ३० लाख बजेट विनियोजन गरिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङ्वाङले बताउनुभयो । झरनासम्म पानीको व्यवस्थापनका लागि अहिले पाइपलाइन विस्तारको काम भइरहेको छ ।

प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । झरना अवलोकन गर्न पुग्नुभएका संक्रान्तिबजारका टाँसी लामा झरनासम्म पुग्न मोटरबाटो खनिएपनि वर्षात्को समयमा सडक हिलाम्मे हुँदा आठराई र फेदापदेखि पदैल यात्रा गर्नुपरेको बताउए ।

जिल्लाका पर्यटकीय गन्तव्यमध्ये झरना धेरैको रोजाइमा पर्छ । झरनामा पुगेर पर्यटक आनन्द लिने गर्छन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्न सके थप पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।

सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्तिबजार प्रवेश गर्ने जो कोहीलाई पनि उक्त झरनाले आकर्षित गर्न थालेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत जिल्लाबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्छन् ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्