Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिभिल होम्सका मालिकको यस्तो छ ठगी गर्ने नयाँ योजना

काठमाण्डौं : गत तीन वर्षअघिको महाविनाशकारी भूकम्पले घरविहीन हुनपुगेकालाई लक्षित गरी र सरकारले तत्कालका लागि जग्गा कित्ताकाट गर्न गरेको कडाइको मौका उठाउँदै सिभिल होम्स प्रालिका सञ्चालकद्वारा सस्तोमा अपार्टमेन्ट बिक्रीको योजना सार्वजनिक गरी ठगीको नयाँ योजना अगाडि सारिएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरी सिभिल होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन एक बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँमा उपलब्ध गराउने भन्दै योजना सार्वजनिक गरिएको थियो ।

सो मूल्यमा एउटा बेडरुमका साथै लिभिङ र डाइनिङ रुमसहितको अपार्टमेन्ट नेपालको सबैभन्दा सस्तो रहेको दाबी सिभिल होम्सकी कर्पोरेट सेल्स म्यानेजर कामना थापाले दाबी गरिरहँदाआजभन्दा अघि बनाएका अपार्टमेन्टहरु किन भूतबंगला बनेका छन् भन्नेमा पनि प्रश्नचिह्न लागेको छ ।

सो अपार्टमेन्टसँगै अन्यले समेत घरजग्गाको मेला राखेर अग्रिम बुकिङ गरी रकम संकलन गरिँदै आएको छ । यसअघि विभिन्न योजना देखाई सिभिल होम्सले आफ्नो ठगी कार्यको निरन्तरतालाई पुनः जीवित बनाएको पाइएको छ ।

सरकारी पक्षलाई कमिसनको नजरना चढाएर उन्मुक्ति पाएको सो कम्पनीका मालिकलाई सरकारले अझैसम्म छानबिन समेत गर्ने आँट गर्न नसकेकै कारण खुलारुपमा अपार्टमेन्टको नाममा ठगी धन्दा चलाउँदै आएको पाइएको छ ।

सरकारी तथा गैरसरकारी जग्गालाई राजनीतिक दलको आडमा कम मूल्यमा लिई निर्माण गर्दैै आएको सिभिल होम्सद्वारा उपभोक्ताहरु ठगिएको खुलासा भएको छ । सरकारी जग्गालाई दलको दबाबमा व्यक्तिगत बनाई रातारात ‘हाउजिङ’ निर्माण गर्नेभन्दै विभिन्न उपभोक्तालाई मिठा आश्वासन दिएर ‘हाउजिङ’को नाममा लुट मञ्चाएको सो होम्सबाट पीडितहरुले जनाएका छन् ।

सो कम्पनीले १७ वर्षदेखि हाउजिङ निर्माण गरेर बिक्री गर्दै देश र जनतालाई ठूलो गुण लगाएको भन्दै पटक–पटक पत्रकार सम्मेलन गरी दाबी गरे पनि वास्तविक काम भने ठगी नै गर्ने उद्देश्यले अपार्टमेन्टको निर्माण गरेको आरोप सो होम्सका पीडितहरुले लगाएका छन् । सिभिल होम्सबाट ठगिएका उपभोक्ताहरुले इच्छाराम समूहबाट आफूहरु ठगिएकोआरोप लगाएका छन् ।

सो होम्सले निर्माण गरेका अधिकांश हाउजिङ (संयुक्त आवासीय क्षेत्र)मा जग्गा अधिग्रहणदेखि नै विवाद पर्दै आएकोमा पछिल्लोपटक सो कम्पनीले उपभोक्तालाई घर हस्तान्तरणमा समेत समस्या देखिएपछि उपभोक्ताहरु आफू ठगिएको गुनासो गरेका छन् । पीडित उपभोक्ता सो कम्पनीविरुद्ध आन्दोलनमा उत्रिने अन्तिम तयारी समेत गरेको जनाइएको छ ।

सिभिल कोलोनीबाट निर्माण भएका सबै हाउजिङमा समस्या उत्पन्न भएको र कम्पनीले सो समस्या समाधान समेत गर्न नसकेकाले उपभोक्ताहरु आफूले बुझाएको पैसाको सावाँ र ब्याजसहित फिर्ता दिई सरकारले ठगी गर्ने सो कम्पनी सञ्चालक सबैलाई ‘ठगी मुद्दा’ लगाई कारबाही गर्नुपर्नेभन्दै आन्दोलनमा उत्रिने तयारी गरेको उपभोक्ताहरुले जनाएका छन् ।

सो कोलोनीमा सिभिलले पूर्वप्रतिबद्धताअनुरुप संरचना नबनाएपछि र सम्झौताअनुसारका सुविधाहरु नदिएपछि उपभोक्ता कोलोनीविरुद्ध उत्रेका हुन् । सो कम्पनीले बस्तीहरुको कित्ता एकीकृत गर्ने र घर निर्माण सम्पन्न प्रमाणपत्र दिने भन्दै अग्रिम रकम लिए पनि सोहीअनुसार कार्य नगरिँदा पीडित हुनपुगेको जनाइएको छ ।सो हाउजिङका सञ्चालक इच्छाराज तामाङले आफ्नो पद र प्रभावको बलमा आफूहरुमाथि मनलाग्दी गरेको हाउजिङहरूका घरधनीको आरोप समेत लगाएका छन् ।

नाम नलेख्ने शर्तमा एक पीडितले भने,‘सुरुमा विभिन्न सुविधा, कुनै समस्या नभएको घर निमार्णपछि घर निर्माण सम्पन्न प्रमाणपत्र दिने भनिएको थियो तर अहिले केही प्रमाण पनि पाइएको छैन, सोबारे सोध्न खोजेमा विभिन्न डर/धम्की समेत दिने गरेका छन् ।’ अहिले सो कम्पनीले फेज २, ३, ४, ५ तथा ६ भित्रका घरधनीले संयुक्तरुपमा आफ्नो बस्तीमा रहेको समस्याहरुलाई पहिचान गर्दै सिभिल होम्सले गरेको बदमासीबारे सबै सरोकारवाला निकायमा जानकारी गराउने समेत तयारी गरेका छन् ।

उनीहरुले सिभिल होम्सविरुद्ध चेतनामूलक कार्यक्रम गरेर नयाँ उपभोक्तालाई फस्न नदिन कम्पनीले यसअघि गरेका छलकपट, हेलचेक्र्याइँ र बेवास्ताको पर्दाफास गर्ने निर्णय गरेसँगै सो कम्पनीका केही पेसेवर गुण्डाबाट धम्की समेत दिने गरेको पीडितहरुको भनाइ छ । घर बेच्दा जुन प्रतिबद्धता गरिएको थियो, त्यो एउटै पनि पूरा नभएको आरोप उपभोक्ताहरुको रहेको छ ।

सुरुमा ९६ घरका लागि तयार गरिएको संरचना र डिजाइनमै एक सय २३ घर बनाउँदा पानी, बाटोलगायतका पूर्वाधार पर्याप्त हुन नसकेको आरोप उपभोक्ताहरुको रहेको छ । सो कोलोनीमा पानी फिल्टरको पूर्वाधार नै राखिएको छैन । आवासीय क्षेत्रका प्रायः कुनै पनि घरलाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छैन । तर सो प्रमाणपत्र चाहिएमा त्यसका लागि थप ५० हजार रुपैयाँ कम्पनीले माग गरेको स्थानीयले गुनासो गरेका छन् ।

पहिलो नक्सामा देखाइए जस्तो स्वीमिङपुललगायतका सुविधा नदिइएको भन्दै फेज–२ का बासिन्दाले यसअघिनै आन्दोलन गरेका थिए । सो कम्पनीले तयार गरेको सुनाकोठीको फेज ३ मा सबैभन्दा बढी समस्या भएको हाउजिङ हो । कम्पनीले पूर्वप्रतिबद्धताअनुरुप धेरै सुविधाहरु नदिएकै कारण उपभोक्तालाई झुक्याएको भन्दै धेरैपटक आन्दोलन भइसकेको थियो । यो कोलोनीसँगै बनेको फेज ५ का स्थानीय पनि यस्तै समस्याबाट पीडित रहेको जनाएका छन् ।

सिभिल होम्सले धापाखेलमा बनाएको चौँथो चरणको आवासीय क्षेत्रमा पनि अनेकौँ समस्या रहेका छन् । सबै जग्गाको कित्ता एकीकृत गरी मिलान गर्नुपर्ने सरकारी व्यवस्थालाई यो फेजमा पनि कम्पनीले के ग-यो भन्ने स्थानीयलाई पत्तो दिइएको छैन । बस्तीमा बनाइएको सामुदायिक हलमा कम्पनीले आफ्नै गोदाम राखेको छ । यो प्रयोगको अधिकार कोलोनीबासीलाई नदिइएको संघर्ष समितिले जनाएको छ ।

सिभिल होम्सका घरहरुमा यति विघ्न समस्या रहेका छन् कि त्यो उल्लेख गरेरै साध्य नभएको पीडितहरुको भनाइ छ । सो कम्पनीले उपभोक्ताहरुलाई रंगीन ब्रोसर देखाएर नयाँ फेजहरुमा बन्ने घर बेच्दै आएको तर घर भने नदिएको गुनासो पीडितहरुको रहेको छ । सरकारी मापदण्डविपरीत निर्माण भइरहेका सबै घरहरुलाई सञ्चालक तामाङले कमिसन दिएर सम्बन्धित निकायको आँखा समेत छोपिदिएको आरोप उपभोक्ताहरुको छ । (आर्थिक दैनिकबाट)

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्