Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनका लागि बुँदागतरुपमा प्रस्तुत हुन हामि सरकारमा आएका हौं : उपेन्द्र यादव

काठमाण्डौ २२, जेठ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा जाँदैमा संघर्षको मैदान नछाडेको प्रष्टपारेका छन् । यादवले भने, ‘सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो । हामी झनै प्रभावकारीरुपले आफ्ना मुद्दाहरु राख्न सरकारमा सहभागि भएका हौं । अब संविधान संशोधनका विषय हामी बुँदागतरुपमा प्रस्तुत गरेर पारित गराउनेतर्फ केन्द्रित हुने छौं ।’

यादवले प्रष्ट बहुमत भएको सरकारले फोरमको आवश्यकताबोध गरेर सरकारमा सहभागि गराउनु पनि उपलब्धि भएको तर्क गर्दै यादवले आफूहरुले उठाएका मुद्दाहरुको सम्बोधन नहुने अवस्था आए कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने पनि बताए । उनले आफू अहिले स्वास्थ्य क्षेत्रमा रहेका चुनौति बुझ्ने क्रममा रहेको र चाँडै नै कसरी सर्वसुलभ स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गर्न सकिन्छ भन्ने नीति अख्तियार गरी कार्यान्वयनका लागि केन्द्रित रहेको बताए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ । पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी उपप्रधानमन्त्री यादव र मन्त्री राईलाई स्वागत गरिएको हो । कार्यक्रममा फोरम नेपालका बरिष्ठ नेता अशोक राईले देश र जनताका हीतमा काम गर्न पार्टी सरकारमा सहभागि भएको जनाउँदै व्यक्तिगत र स्वार्थप्रेरित काम लिएर मन्त्रीहरुलाई अनावश्यक झमेलामा नपार्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

बरिष्ठ नेता राईले भने, ‘हामी देश र जनताको काम गर्न सरकारमा गएका हौं । अनावश्यक कामहरु लिएर कोही पनि मन्त्रालयमा नजाओस् । ताकि भोलि कसैले आफ्नो व्यक्तिगत काम भएन भनेर गुनासो गर्नुपर्ने नहोस् ।’ राईले सरकारमा सहभागि हुने मन्त्री चयन पार्टीका सबैको सहमतिमै भएको दाबी गर्दै बरिष्ठ नेता राईले विरोधी तत्वहरुले अनावश्यकरुपमा विवाद गराउन मनगढन्ते रुपमा हल्ला चलाएको पनि बताए । पार्टीका कुनै पनि नेताहरुबीच सरकारमा सहभागि हुने विषयमा मनमुटाव नरहेको बरु झनै एकता सुदृढ भएको पनि राईको दाबी थियो ।

कार्यक्रममा सहरी विकास मन्त्री राईले नयाँ र व्यवस्थित सहर निर्माणसम्बन्धी अवधारणाहरु साकार पार्ने अठोट गरे । उनले तराई र पहाडी क्षेत्रका सबै सहरहरुको विकासका लागि आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्