Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-फोरमको सरकारलाई ५ बर्षसम्म कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राउत

रौतहट, २२ जेठ : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा-फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

केन्द्र सरकारमा फोरम सहभागी भएपछि अहिले केही मिडियाबाट कपोकल्पित रुपमा अनावश्यक प्रचार मात्रै गरेर प्रदेश नम्बर २ को सरकार ढाल्ने जस्ता अनर्गल प्रचार प्रसार गरिरहेकोमा आपत्ति प्रकट गर्दै उनले केही अनलाइन पत्रिकाको नामै लिएर पित पत्रकारिताको हदै पार गरिसकेको आरोप लगाए।

रौतहट सदरमुकाम गौरस्थित कविर चोकमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टीबीच दुई बुंदे सहमतिपश्चात केन्द्रीय सरकारमा फोरम सहभागी भएको प्रष्ट पार्दै प्रदेश २ को सरकार ढल्ने अड्कलबाजीमाथि पूर्ण विराम लगाउदै फोरम राजपा गठबन्धनमा आफनो कार्यकाल पुरा गर्ने दावी गरे।

संविधानमा दर्जनौ स्थानमा संशोधन गर्नुपर्ने भएकोले संविधान संशोधनको लागि दुई तिहाइ बहुमतको आवश्यक परेको हुनाले फोरम सरकारमा सहभागी भएको बताउँदै मुख्यमन्त्री राउतले संशोधन नगरेसम्म केन्द्रीय सरकार अघि बढ्न नसक्ने ठोकुवा गरे। प्रदेश २ मा मधेशको माग एवं म्याण्डेड अनुसार राजपा र फोरम गठबन्धनको सरकारको बाहेक अन्य कुनै विकल्प नरहेको बताए।

मोदीको जनकपुर भ्रमणको बेलामा मञ्च व्यवस्थापनदेखि लिएर अन्य अतिथि सत्कारमा भएको खर्च सबै उधारोमा रहेको बताउँदै राउतले केन्द्र सरकारबाट अहिलेसम्म ७ रुपैयाँसम्मपनि प्राप्त नभएको तर ७ करोड खर्च गर्यो भनेर आफूविरुद्ध केही मिडियाले अनर्गल प्रचारबाजी गरेकोप्रति आपत्ति जनाए। ‘पाहुनालाई बोलाइदिने तर एक रुपैयाँ नदिने? यो कस्तो केन्द्र सरकारको नीति हो,’ उनले प्रश्न गरे।

प्रदेश नम्बर २ संग स्रोत साधन अत्यन्तै न्यून भएपनि सुशासनको सवालमा अन्य प्रदेश भन्दा राम्रो हुने उनको दावी छ।मञ्च बनाउन भारतबाट प्राविधिक टोलीहरु आएर बनाएको त्यो पनि सबै उधारोमा भएको उनले स्पष्ट पारे। गाडी व्यवस्थापन र व्यानरमा ७ करोड रुपैयाँ कहाँ लाग्छ ? उनले प्रश्न गर्दै त्यस्ता पित पत्रकारिता गर्नेलाई जनताहरुले सबक सिकाउने बताए।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्