Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको २ ओटा समानान्तर कार्यालय : पेरिसडाँडा र धुम्बाराहीमा अध्यक्षद्वयको कार्यकक्ष

काठमाडौं १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

धुम्बाराहीमा अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष व्यवस्थापन गरिने निर्णय भएको उनले बताए । सचिवालय सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष तयार गरिनेछ । धुम्बाराही कार्यालय भाडाको भएको र पेरिसडाँडामा पर्याप्त खाली ठाउँ रहेकाले पार्टीका धेरै काम भने पेरिडाँडा कार्यालयबाटै हुने छन् ।

कार्यालय व्यवस्थापनका लागि ४ सदस्यीय कमिटी
कार्यालय व्यवस्थापनका लागि ४ सदस्यीय कमिटी गठन गरिएको नेता श्रेष्ठले बताए । कमिटीमा विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, प्रह्लाद बुढाथोकी र श्रीराम ढकाल छन् । ‘अहिले धुम्बाराही र पेरिडाँडामा पार्टी कार्यालयको मात्र नाम फेरिएका छन्,’ श्रेष्ठले भने, ‘पुराना स्वरूपका दुवै पार्टी कार्यालयका कार्यकक्ष भत्काएर नयाँ स्वरूपमा बनाउँछौँ ।’ शुक्रबार महासचिव विष्णु पौडेल पेरिसडाँडा पुगेर कार्यकक्षमा बस्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए । दुई अध्यक्षको कार्यकक्ष उस्ताउस्तै हुने गरी ‘डेकोरेसन’ गरिने भएको छ ।

४ जेठपछि दुवै कार्यालयमा गएका छैनन् दुवै अध्यक्ष
३ जेठमा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी घोषणासँगै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए । ४ जेठमा ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरे । तर, त्यसपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा गएका छैनन् ।

‘धुम्बाराही र पेरिसडाँडा कार्यालय उद्घाटन गरेपछि दुवैतिर अध्यक्ष कमरेड प्रचण्ड जानुभएको छैन,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘बाहिर–बाहिरै कार्यक्रम परेकाले पनि कार्यालयमा जान भ्याउनुभएको छैन ।’ प्रधानमन्त्री एवं अध्यक्ष ओली पनि उद्घाटनपछि दुवै कार्यालय नगएको बालुवाटार स्रोतले जनायो । पार्टीका नेता–कार्यकर्तासँग भेटघाट ओलीले बालुवाटार र प्रचण्डले खुमलटार निवासमै गर्दै आएका छन् भन्दै नयाँपत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्