Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति र कार्यक्रम एकतातिर बजेट अर्कोतिर, प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई नै ठगे : झा

काठमाण्डौ, जेठ १७ : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता अनिल झाले आर्थिक वर्ष २०७५/७६ को बजेट अपक्षा गरिएअनुसारको नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता झाले नीति र कार्यक्रम एकतातिर बजेट अर्कोतिर भएको आरोप लगाए ।

नीति र कार्यक्रममा समावेश गरिएका योजना राम्रा भएपनि ति योजना कार्यान्वनय हुने गरी बजेट नआएको उनको तर्क छ । संघीयताको आवश्यकतालाई पनि बजेटले सम्बोधन गर्न नसकेको झाको आरोप छ । “७६ प्रतिशतभन्दा बढि स्रोत केन्द्रले प्रयोग गर्ने भनिएको छ ।

प्रदेश र स्थानीय सरकारलाई स्रोत साधनको अधिकार दिइएको छैन । संघीयतालाई संस्थागत गर्नुपर्ने जिम्मेवारी बोकेको प्रदेश र स्थानीय सरकारलाई बजेटले वेवास्ता गर्यो ।” झाले भने । बजेटको संरचनाका आधारमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन नसक्ने झाले ठोकुवा गरेका छन् । सरकारले कम्युनिष्ट पार्टीको कार्यकर्ता पोस्ने बजेट ल्याएकोसमेत अरोप लगाए । “वृद्धभत्ता ५ हजार पुर्याउँछु भनेर भोट मागेका प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई नै ठगे ।”

नीति तथा कार्यक्रम र चुनावी घोषणापत्रलाई लत्याएर बजेट ल्याइएको झाको आरोप छ । फरक प्रसंगमा झाले संघीय समाजवादी फोमर नेपाल सरकारमा सहभागि हुने विषयले आफ्नो दललाई कुनै फरक नपर्ने बताए । प्रदेश नम्बर दुईको सरकार फोरमका अध्यक्ष उपेन्द्रले नढालेसम्म रहिरहने उनको भनाई छ ।

“हामी सरकार ढाल्दैनौँ । मधेशमा विकास र समृद्धिका लागि प्रदेश सरकारमा छौँ । साझा सरकार छ, यसलाई उपेन्द्रजीले नढालेसम्म चल्छ ।” झाले भने । प्रधानमन्त्री केपी ओलीले राजपालाई पनि सरकारमा आउन आग्रह गरेको दाबी गर्दै झाले तत्काल सरकारमा सहभागि हुने वातावरण नबनेको बताए । मधेश आन्दोलनका एजेण्डा पूरा गर्नका लागि संविधान संशोधन गर्नुपर्ने पक्षमा आफूहरु अडिग रहेको उनले बताए ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्