Logo
६ जेष्ठ २०८१, आईतबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीति स्थिरतातर्फ अग्रसर भएसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव

काठमाडौं : सरकारले लामो समयदेखि अस्थिर रहेको देशको राजनीति स्थिरतातर्फ अग्रसर भएसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको निष्कर्ष निकालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष (आव) २०७४/७५ को आर्थिक सर्वेक्षणले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणले चालू आवको पहिलो ८ महीनाको समष्टिगत आर्थिक परिसूचकको आधारमा वार्षिक प्रक्षेपण गरेको छ । आर्थिक सर्वेक्षणमा आपूर्ति प्रणालीमा सुधार आएको, ऊर्जाको उपलब्धता बढेको, निर्माण कार्यले गति लिएको र व्यापार क्षेत्र विस्तारित भएको आधारमा अर्थतन्त्रले सकारात्मक दिशा लिएको अभियानमा लेखिएको छ ।

विभिन्न माग लिएर सङ्घर्षमा रहेका दलहरू संविधान जारी भएसँगै ३ चरणमा भएको निर्वाचनपछि आर्थिक विकासमा एकजुट भएपछि आर्थिक क्रियाकलापका लागि वातावरण बनेको हो । सकारात्मक वातावरण बनेसँगै उद्यमी–व्यवसायी सबैभन्दा धेरै खुशी भएका छन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाली राजनीति आन्तरिक सङ्घर्षबाट सुरक्षित अवतरण भएपछि अर्थतन्त्रमा आशावादी हुने पर्याप्त ठाउँ बनेको बताए । उनले सरकारले अर्थतन्त्रका सम्भावनालाई बजेटमा कसरी कार्यान्वयन गर्छ भन्ने पक्ष बढी महत्त्वपूर्ण हुने धारणा राखे । शर्माले भने, ‘आशावादी हुने ठाउँ छ, कार्यान्वयन कसरी हुन्छ भनेर पर्खिरहेका छौं ।’

आर्थिक सर्वेक्षणले विगत १ दशकमा औसत ४ दशमलव ३ प्रतिशत रहेको आर्थिक वृद्धि चालू आवमा बढेर ५ दशमलव ९ प्रतिशत पुग्ने बताएको छ ।

योसँगै मुलुकमा गरीबी घट्ने र प्रतिव्यक्ति आय बढेर १ हजार ४ अमेरिकी डलर पुग्ने भनेको छ । केही समय पहिले केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक तथ्याङ्कमा पनि अहिलेका प्रक्षेपण समावेश छ ।

आर्थिक सर्वेक्षणले कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान क्रमशः घट्दै गएको र सेवाक्षेत्रको योगदान बढ्दै गएको औंल्याएको छ । यसले अर्थतन्त्र सकारात्मक रहेको देखाउँछ ।

बजेट मङ्गलवार
काठमाडौं । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को जेठ १५ गते मङ्गलवार बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजस्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आइतवारको बैठकमा उक्त जानकारी दिएका हुन् । उक्त दिन अपराह्न ४ः ०० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त सदनमा बजेट पेश गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्