Logo
६ जेष्ठ २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन पठाउन लागिएको दुई जोडी गैंडा निकुञ्ज प्राविधिकको नियन्त्रणमा

चितवन : नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिबार साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो । शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । करिब दुई वर्षको गैंडा बेहोस बनाएर नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएको गैंडालाई निकुञ्जको बाटो हुँदै गाडीमा राखेर सौराहा लगिएको छ । सौराहामा रहेको पिट बुमा (खोर) मा गैंडालाई राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ । करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि यसअघि नै आइसकेका छन् । विसं. २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गर्नुभएको थियो ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्