Logo
६ जेष्ठ २०८१, आईतबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तह बैंकविहीन हुँदा आर्थिक कारोबार गर्न समस्या

इलाम : सबै स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । इलाम जिल्लाका १० वटा स्थनीय तहमध्ये ६ वटा तह अझै बैंकविहीन छन् । यसको प्रत्यक्ष असर स्थानीय तहका कर्मचारी तथा स्थानीय बासिन्दालाई परेको छ ।विकास निर्माणको मात्र नभएर स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलब समेत गाउँपालिकामा नै गएको छ । तलब, भत्ता, सामाजिक सुरक्षा भत्तालगायतका रकम निकासा गर्न भुक्तानीमा प्रत्यक्ष असर पुगेको फाकफोकथुम गाउँपालिका – ४ फूयतप्पाका वडासचिव कृष्णप्रसाद खनालले बताए।

उनका अनुसार बैंककिङ्ग सेवा स्थानीय तहमा नहुँदा बासिन्दालाई सेवा दिने सहज वातावरण नबनेकाले सम्पूर्ण कार्यका लागि सदरमुकाम नै धाइ रहनु पर्ने बाध्यता छ । खनालले भने, ‘कच्ची बाटो छ । हिउँदमा सहज भए पनि बर्खाको समयमा गाडी नचल्ने भएकाले स्थानीय तहमा बढी समस्या देखा परेको छ ।’बर्खाको समयमा १२ घण्टासम्मको समय लगाएर सदरमुकाम आउनु पर्ने बाध्यता भएकाले सिंहदरबारको अधिकार गाउँगाउँ पुर्‍याउने भन्ने कुरा भनाईमा मात्र सिमित भएको स्थानीयको गुनासो छ। जिल्लाका इलाम, सूर्योदय र देउमाई नगरपालिकामा दर्जन भन्दा बढी बैंक पहिले नै स्थापना भएका छन् भने अहिले पनि कतिपय बैंकहरु स्थापना भइरहेका छन् ।

जिल्लाका माई नगरपालिका , सन्दकपुर, माईजोगमाई, फाकफोकथुम, माङ्गसेबुङ्ग र रोङ्ग गाउँपालिकामा बैंक नहुँदा समस्या भएको छ । चुलाचुली गाउँपालिकामा भने भर्खरैमात्र एनएमबी बैंक स्थापना भएको छ । सबै गाउँपालिकामा जाने भनिएका बैंक आवश्यक पूर्वाधारको अभाव देखाउदै एउटा मात्र पनि स्थापना हुन नसक्दा भने गाउँपालिकाले सदरमुकाममै रहेको बैंकमा खाता खोलेर काम गर्दै आउनु परेको छ ।

यसको प्रत्यक्ष असर नियमित गरिने काममा परेको सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राईले बताए । उनले भने , सम्पूर्ण सेवा सुविधा गाउँपालिकामा तर आवश्यक भौतिक पूर्वाधार सुविधा सम्पन्न सदरमुकाममा हुँदा काम झनै झन्झटिलो भएको छ ।सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ । दलहरूले निर्वाचनमा गरेका घोषणा अहिलेसम्म पनि कार्यान्वयन गराउन नसक्दा झनै बढी समस्या खेप्नुपरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्