Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत २३ लाई तोकिएको अस्थायी शिक्षकको परिक्षा स्थगित

काठमाडौँ : चैत २३ लाई तोकिएको अस्थायी शिक्षकको परीक्षा शिक्षा सेवा आयोगले एक सूचना प्रकाशित गरी स्थगित गरिएको जानकारी दिएको छ । आयोगको कार्यालय भक्तपुर, सानोठिमीमा बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ताना गौतमले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका थिए ।

परिक्षा स्थगितको माग गर्दै राजधानीमा शिक्षक र विद्यार्थीको दुइटा अनशन चलिरहे पनि शिक्षक सेवा आयोगले यसअघि परिक्षा नरोकिने बताउँदै आएको थियो । आयोगका अनुसार देशभरका ५ जिल्लाका एक सय १६ परीक्षा केन्द्रमा २३ गते दिउँसो १ बजेबाट अस्थायी शिक्षकहरूको परीक्षा हुने भनिए पनि सोबाट मात्रै सबै रिक्त पदहरु पूर्ति हुन नसक्ने देखिएकाले हाललाई परिक्षा स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ।

शतप्रतिशत अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनुपर्ने माग राखेर २ शिक्षक र खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक स्थायी गरिनुपर्ने मागसहित शिक्षाशास्त्र संकायमा अध्ययनरत ३ विद्यार्थी अनशनमा छन्। शिक्षक र विद्यार्थी दुवैले तोकिएको परीक्षा रोकेर नयाँ प्रक्रियामा जानुपर्ने माग राखेका हुन् । अनशनरत पक्षको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।

२०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको आवेदन लिएर परीक्षा लिन लागिएको हो। ७५ प्रतिशत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरेर २५ प्रतिशतका लागि खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी थियो ।६ लाखभन्दा बढी विद्यार्थी अध्यापन अनुमतिपत्र लिएर खुला प्रतिस्पर्धा गर्न तयार रहेको अवस्थामा आन्तरिक प्रतिस्पर्धा हुन लागेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । शिक्षा ऐनको आठौं संशोधनमा ४९ प्रतिशत शिक्षकलाई मात्रै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रावधानलाई नवौं संशोधन गरेर ७५ प्रतिशत बनाइएको थियो ।

प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो जसमा २३ हजार ३ सय शिक्षकले आवेदन दिएका छन् । तीमध्ये प्राथमिक तहमा विज्ञापन गरिएको पदभन्दा ३ सय ३३ मात्र कम आवेदन परेको छ।  प्राथमिक तहका परीक्षामा सम्मिलित हुने अस्थायी शिक्षक ४० अंक प्राप्त गरे स्वत: स्थायी हुनेछन् । निम्नमाध्यमिक र माध्यमिक तहमा विज्ञापन गरिएको पदको क्रमश: ५ सय ३० र १ हजार १३ बढी शिक्षकले दरखास्त दिएका छन् ।  ४९ प्रतिशतलाई वृद्धि गरेर ७५ प्रतिशत बनाउँदा २ हजार ७ सय ५६ शिक्षक आन्तरिक प्रतिस्पर्धामा थपिएका थिए ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्