Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार ईच्छुक

काठमाडौं : उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको छ । मन्त्री पुनसँगको भेटमा चिनियाँ राजदूतले नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र ईच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण वनाउनुपर्नेमा जोड दिए ।

चिनियाँ राजदूतले मन्त्री पुनसँगको भेटमा हाल चिनियाँ कम्पनीले करिब ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिए । उनले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताए ।

राजदूत होङले चिनियांँ कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेकी थिइन् । उनले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी समेत दिइन् ।

त्यसका लागी नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दिर्घकालिन रुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गरिन् । उनले चिनियाँ सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सँधै तयार रहेको धारणा समेत राखिन् ।

चीन र नेपालको राजनीतिक सम्बन्ध समेत निकै सुमधुर भएको भन्दै राजदूत होङले उर्जा मन्त्रालयसंँग काम गर्न चिनियाँ सरकार ईच्छुक रहेको बताइन् । भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गरे । उर्जामन्त्री पुनले चिनियाँ लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफुले समाधानका लागी पहल गर्ने बताए ।

मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागी पहल गर्न राजदूत होङलाई आग्रह गरेका थिए । ‘नेपालमा चिनियाँ कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भीर छौ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन् ।’ भेटमा मन्त्री पुनले भने ।

चिनियाँ कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागी उर्जा मन्त्रालयले पहल थाल्ने मन्त्री पुनले बताए । वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागिताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राखे ।

उर्जामन्त्री पुनले रसुवा– केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गरे । नेपालमा चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण गर्न सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिए । १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागी ठुला आयोजना निर्माणमा सरकारको ध्यान जाने मन्त्री पुनले बताए ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्