Logo
५ जेष्ठ २०८१, शनिबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनापछि पायो संसदले ‘बिजनेस’ आर्थिक कार्यविधि विधेयक दर्ता

सुर्खेत : सरकारले बिजनेस दिन नसकेपछि स्थगित गरिएको कर्णाली प्रदेशको संसद् बैठक चैत १६ गतेका लागि आह्वान गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार संसद् सचिवालयमा आर्थिक कार्यविधि विधेयक दर्ता गरेपछि संसद् बैठक आह्वान गरिएको हो। सरकारले बिजनेस दिन नसकेपछि गत फागुन १५ गतेदेखि संसद् बैठक स्थगित गरिएको थियो।

चैत १६ गते शुक्रबार दिउँसो १ बजे बैठक आह्वान गरिएको कर्णाली प्रदेशसभा सचिवालयका सचिव राकेश पौडेलले जानकारी दिए। आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक संसद् सचिवालयमा दर्ता गरिसकेको छ भने सरकारले अन्य विधेयक पनि दर्ता गर्ने तयारी गरिरहेको छ। आर्थिक विधेयकका साथै बैठकमा कर्णाली प्रदेशसभा नियमावली २०७४ समेत पेश गर्ने तयारी गरिएको छ।

सांसद सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार पारेर सभामुख राजबहादुर शाहीलाई बुझाएको थियो।प्रदेश सरकारको आन्तरिक प्रणाली, बेरुजु फछ्र्यौट व्यवस्थापन, आर्थिक व्यवस्थापन सञ्चालन, जवाफदेही कानुन, प्रतिबद्ध लेखा, सम्पत्ति व्यवस्थापन प्रणाली, विद्युतीय लेखा प्रणाली लगायतका ऐनहरु निर्माणका लागि विधेयक पेश गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

प्रदेश सञ्चित कोषको सञ्चालन गर्न प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना हुनुपर्ने भए पनि ऐन नबन्दा उक्त कार्य रोकिएको थियो। मन्त्री ज्वालाले बजेट ल्याउनुअघि त्रिवर्षीय मध्यकालीन खर्च संरचना प्रस्तुत गर्ने कानुनी प्रावधान अनुसार आर्थिक कार्यविधि आवश्यक पर्ने भएकाले विधेयक तयार पारी पेश गरिएको बताए। विधेयक पारित भएमा प्रदेश सरकार सञ्चालनका लागि आर्थिक गतिविधि, बजेट, लेखा, आर्थिक अनुशासन लगायत गतिविधि नियमन गर्न सहज हुने जनाइएको छ। आर्थिक कार्यविधि विधेयक पारित गरेर चालु आर्थिक वर्षको चार महिनाका लागि बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्