Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिँदै, हरेक वर्ष सात हजारसम्मको मृत्यु

भक्तपुर : नेपाललाई सन् २०३५ सम्ममा क्षयरोग मुक्त देश बनाउने सरकारले लक्ष्य लिएको छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपाललाई पनि क्षयरोग मुक्त देश बनाउन सरकारले लक्ष्य लिएको हो । नेपालमा हरेक वर्ष १० देखि १३ हजार क्षयरोगका बिरामी हराइरहेका छन् ।

ती बिरामी कहाँ छन् रु कस्तो अवस्थामा छन् रु उपचार पाएका छन् कि छैनन् रु भन्ने यथार्थ अवस्थासमेत आउन नसकेको अवस्थामा देशलाई अबको १७ वर्षमा क्षयरोग मुक्त बनाउन सकिन्छ त रु यो प्रश्न गम्भीर र चुनौतीका रुपमा अगाडि आएको छ । मार्च २४ का दिन विश्वका १६५ देशमा विश्व क्षयरोग दिवस मनाइरहँदा नेपालले पनि ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराको साथ भव्य रुपमा विश्व क्षयरोग दिवस २०१८ मनाइरहेको छ ।

यस्तो छ क्षयरोगको अवस्था :

राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा केदार नरसिंह केसीले नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी रहेको बताए । उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्, आव ०७३/७४ मा ३१ हजार ७६४ नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याइएको छ तर पनि अझै १० देखि १३ हजार नयाँ क्षयरोगका बिरामी हराइरहेका छन्, नयाँ र पुराना गरी २८ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनुपर्ने छ, यो चुनौती छ ।”

यो चुनौतीबीच पनि नेपालमा पत्ता लागेका क्षयरोगका बिरामीको उपचारमा सफलताको दर भने ९० प्रतिशत रहेको दाबी केन्द्रको छ । केन्द्रका अनुसार विश्वमा हरेक वर्ष ८० लाख नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने र हरेक वर्ष क्षयरोगबाट विश्वमा २० लाख मानिसको मृत्यु हुनेछ । नेपालमा भने क्षयरोगबाट हरेक वर्ष पाँचदेखि सात हजारको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

सरकारले आव ०७३/७४ मा चार हजार ३२१ उपचार केन्द्र, ९६ वटा शहरी डट्स केन्द्रबाट क्षयरोगका उपचार सेवा, ६०४ रोग निदान केन्द्र, २७ वटा जिन एक्सपर्ट केन्द्र र दुईवटा प्रेषण प्रयोग शाखामार्फत क्षयरोगको सेवा दिइरहेको छ । औषधि प्रतिरोधी क्षयरोगका २८ उपचार केन्द्र र ८१ उपचार उपकेन्द्रमार्फत सेवा उपलब्ध गराएको केन्द्रका कार्यकारी निर्देशक डा केसीले बताउनुहुन्छ । नेपालमा औषधि प्रतिरोधी क्षयरोग बिरामीको संख्या बढ्दै जानु सरकारका लागि चुनौती बन्दै गएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खकारमा कीटाणु देखिएका वार्षिक एक हजार औषधि प्रतिरोधी क्षयरोगका  बिरामी थपिन्छन् भने यीमध्ये ४०० बिरामीको मात्रै रोग पत्ता लगाई उपचारमा ल्याउन सफल भएको छ । उपचारमा रहेको उक्त बिरामीमध्ये पनि ४६ प्रतिशत बिरामीमा मात्रै एन्टिबायोटिक औषधिको प्रभाव देखिएकाले यो निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।

केन्द्रका पूर्वकार्यकारी निर्देशक डा राजेन्द्र पन्तले क्षयरोगका कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजारको मृत्यु हुने गरेको बताए । दुर्गमका कतिपय बिरामी अझै पनि उपचारको पहुँचसम्म पुग्न नसकेको, कतिपय बिरामी खकार परीक्षण गर्ने स्वास्थ्य सेवासम्म नपुग्ने गरेको, कतिपय बिरामी सामान्य औषधि खाएर बस्ने र उपचारका लागि नजाने गर्दा पनि वार्षिक १० देखि १३ हजार नयाँ बिरामी स्वास्थ्य उपचारको पहुँचमा आउन नसकेको डा.पन्तले बताए । सबै बिरामीको पहिचान गरी उपचारमा ल्याउनका लागि अब स्थानीय तहको सक्रियता आवश्यक रहेको उनको भनाई छ ।(रासस)

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्