Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुलासाः ५ सयबाट सुरु भएको ११ बर्षिय स्कुले विद्यार्थीको यस्तो छ, अपराध यात्रा

तपाईको घरमा १५ वर्ष मुनिका किशोर-किशोरी छन् भने यो खबर तपाईका लागि पनि हो । उनीहरुको क्रियाकलाप र ब्यवहार निगरानी कति महत्वपूर्ण छ भन्ने हेक्का आवश्यक देखिएको छ । कल्पना भन्दा बाहिरको अपराध, ठगी, चोरी र जालसाजी । जुनसुकै नाम दिएपनि फरक पर्दैन । पत्यारनै नलाग्ने एउटा घटनाको रहस्योद्घाटन भएको हो ।

नेपालगन्ज स्थित एउटा निजी विद्यालयमा कक्षा ६ मा पढ्ने विद्यार्थी आदित्य शाह । १५ महिना अघि उनी आफ्नै घरबाट ५ सय रुपैया अभिभावकलाई थाहै नदिइ झिकेर लगेका थिए । आफ्नो साथीबाट पेन किन्न भन्दै लगेको सो रकम पछि अन्ततः ६८ लाखको ठगीसम्मको घटनामा पुग्यो । घटना सुन्दै नाटकीय लाग्छ । पाँच सय पर्ने पेन उनले आफ्नो साथी शिवम पाण्डेबाट खरीद गरेका थिए ।

रकम अभिभावकको जानकारी विना ल्याएको कुरो प्रारम्भिक रुपमा शिवमले मात्र थाहा पाएका थिए । ‘चोरी कार्यमा संलग्न रहेको’ आरोप लगाउँदै आदित्यलाई सहपाठी शिवमले ‘ब्ल्याक मेल’ गर्न सुरु गरे । ‘मलाई दुई हजार रुपैया देउ नत्र तिम्रो घरमा भनिदिन्छु’, शिवमले आदित्यलाई भनेको पहिलो लाइन यहि थियो । त्यहिंबाट सुरु भयो घटनाको सुत्रपात । अर्थात ६८ लाख ठगीको सिलसिला र योजना । आदित्यले घरबाट थाहै नदिइ फेरि शिवमलाई दुई हजार बुझाए । त्यसपछि पुनः सोही किसिमले दबाव दिएर ६ हजार ५ सय र ३ हजार ५ सय रुपैया पनि शिवमले असूल गरे ।

आदित्वका बुबा विन्देश्वर शाह नेपालगन्जमा आयुर्वेद मेडिकल चलाउँछन् । उनको घरमा ड्राईफूड उत्पादनको डिलर छ । एक करोड लगानीमा सुरुवात गरिएको डिलरको संकलन दिनहुँ हुन्छ । विन्देश्वरले भने, ‘साँझ संकलन भएर आएको रकम साँझै बैंकमा हाल्न नमिल्दा घरमै राखिएको हुन्छ ।’ आदित्य र शिवम पाण्डे विच चलिरहेको घटना बारे अर्को विद्यार्थीले पनि थाहा पाए ।

उनको नाम हो, एजाज खान । श्रृंखला अझ अगाडी बढ्छ । त्यसपछि घटना बारे विद्यालयमा कार्यरत कम्प्युटर शिक्षक सुशील साहुले जानकारी पाए । सुशीलले आदित्यलाई एक लाख ७५ हजार रुपैया नदिए तिम्रो घरमा भनिदिने र परीक्षामा फेल गराई दिने धम्की दिए । आदित्यको घरमा रकम राख्ने जिम्मेवारी उनकी आमाको थियो । आमा नुहाउन जाँदा तिजोरीको साँचो आदित्यको जिम्मा लगाउँथिन् ।

रकम नजिक सबै भन्दा दोस्रो ब्यक्ति आदित्य नै थिए । तर उमेर कम भएका कारण रकम गायब भएको बारे अझै अनुमान गर्ने कुरा आएको थिएन । एक वर्ष अघि आदित्यका दाईको विहे भयो । सोही समयमा ठूलो रकम गायब भएपछि अधिकाँशको शंका नयाँ भित्रिएको दुलही माथि गयो । ‘घटनामा पहिलो पटक रकम गायब भएको शंका एक लाख ७५ हजार चोरी भएकै बेला भएको थियो,’ विन्देश्वर शाहले भने, ‘नयाँ आएको बुहारीले नै रकम गायब गरेको सबैको अनुमान थियो ।’

घरमा काम गर्ने नोकर देखि ब्यवसायमा संलग्न ब्यक्तिहरु सहित परिवारका सबै सदस्य रकम गायब पार्ने आशंका घेरामा थिए, तर प्रमाण कसैका विरुद्ध थिएन । नयाँ बुहारी र छोरा बिच यसै विषयले असमझ्दारी बढ्यो । ‘अन्ततः सम्बन्ध विच्छेद सम्मको नौबत (अवस्था) आयो,’ शाहले भने, ‘घटनामा कान्छो छोराको संलग्नता बारे कुनै आशंका थिएन ।’

निजी विद्यालयमा अध्यापन गराएर १३ हजार तलब पाउने शिक्षक सुशील शाह आफ्नो घर बनाइसकेका थिए । उनी एउटा गिफ्ट हाउस पनि संचालन गरे आदित्यबाट अबैध असुली गरिरहेको रकमबाट । ‘आदित्यलाई मनोवैज्ञानिक तरिकाले त्रास दिइएको थियो,’ मुद्दा हेरिरहेका अधिवक्ता लोक बहादुर शाहले भने, ‘हत्या गर्ने सम्मको धम्की दिएर रकम असूली भएको पाइयो ।’

अर्का विद्यार्थी अर्थात आदित्यका सहपाठी एजाज खानले आदित्यबाट १८ लाख रुपैया असूल गरे । शिक्षक सुशीलले ४० लाख रुपैया असूल गरे । शिवम पाण्डेले १० लाख रुपैया असूल गरेको घटनामा उनकी आमाले पनि ४० हजार रुपैया माग गरेकी थिइन् । आदित्यले दैनिक नेपालगन्ज संग भने, ‘रकम नभएका कारण घरबाट सुनको एउटा औंठी, २ वटा टप, २ वटा झुमकी एजाज मार्फत शिवमकी आमालाई पठाएको थिएँ ।’ पछि उनले लगाएकै अवस्थामा टप फेला परेको प्रहरी भनाइ छ । अझै उनी प्रहरी अनुसन्धानको दायरामै भएपनि नियन्त्रण बाहिरै छिन् ।

घटनामा ६८ लाख रुपैया ठगि भएको प्रारम्भिक हिसाब छ । प्रहरीले ठगी, चोरी, अपहरण मुद्दामा शिक्षक सुशील साहुलाई पक्राउ गरि सकेको छ । यद्यपि चोरी मुद्दा मात्र दर्ता गरेर प्रहरीले घटनाका अभियुक्तहरुको पक्ष पोषण गरिरहेको गुनासोे छ । घटनामा अर्का शिक्षक जीवन नाम गरेकालाई अझै फन्दा बाहिरै राखिएको पीडित परिवारको आरोप छ । उनीमाथि पनि रकम नदिए हत्या गर्ने सम्मको धम्की दिने सम्मको हर्कत गर्ने गरेको आरोप पीडितले लगाएका छन् ।

‘जीवनले ४० हजारको एउटा मोबाइल आदित्यकै रकमबाट खरीद गरेका थिए,’ उनी अझै सोही स्कूलमै अध्यापन गराइरहेको जानकारी दिंदै परिवारले भनेको छ । आमा संग नै घुलमिल गरेका आदित्यलाई फरक फरक किसिमले मनोवैज्ञानिक त्रास देखाएर ठगी गर्ने योजना बनाउँदै आएका अभियुक्तलाई प्रहरीले अझै फन्दामा ल्याउन आनाकानी गरिरहेको आरोप छ ।

‘हामी अझै अनुसन्धानकै क्रममा छौं,’ दैनिक नेपालगन्ज संग जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘नाबालकहरुलाई पक्राउ गर्ने ब्यवस्था नभएकोले पक्राउ नगरिएको हो ।’ अभिभावकको सन्दर्भमा प्रमाणहरु जुटाउने काम भइरहेको बताउँदै विष्टले भने, ‘प्रमाण पुगेको ब्यक्ति स्वतः फन्दामा आउँछन् ।’ साभारः दैनिक नेपालगन्ज

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्