Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्टमाथि हदै सम्मको कारवाही गर

धनुषा जिल्लाको महेन्द्रनगर स्थित एभरेष्ट मिलको लापरवाहीको कारण औरही एवं विग्ही नदी नराम्ररी प्रदुषित बनेको छ । मिलबाट निस्कने फोहर र गन्हाउँदो पानी नदीमै फालिने गरिएकोले यी दुई नदीको पानी खाएर आसपास क्षेत्रका स्थानीयवासीको गाई वस्तु समेत मर्ने गरेको खबर सुनिने गरिएको छ ।

वातावरण वैज्ञानिकहरुको अनुसार पेपर मिलबाट नदीमा मिसिन गएको पानीमा बायोलोजिकल अक्सिजनको माँग १ सय एमजी प्रति लिटर हुनुपर्नेमा ६ सय ८० एमजी पाईएको छ । जसको कारण उक्त नदीहरुमा जलचरप्राणीको अस्तित्व पुर्ण रुपमा समाप्त भईसकेको छ । मिलबाट त्यस्ता विषादीयुक्त पानी प्रतिघण्टा १ सय ८० क्युबिक लिटर मिसिने गरेको छ । विषादीयुक्त पानीले नदीको सौन्दर्यीकरणमा मात्रै नभई नदी वरिपरिको सयौँ विग्घा खेतीयोग्य जग्गामा लगाईएको बालीनाली, पशुपंक्षी र पानीमा बाँच्ने जिव नष्ट भईसकेको छ ।

धनुषाको ३ र महोत्तरीको १९ गाबिस भएर बग्ने औरही तथा बिग्ही नदीको पानी सिंचाईको लागि अनुपयुक्त करार गरिसकिएको छ भने वर्षा यामको बेला नदीको पानी खेतबारीमा पस्दा आसपासका क्षेत्रका स्थानीयवासीहरु नराम्ररी प्रभावित हुने गरेका छन । पेपर मिलमाथि परेको रिट पछि सर्वोच्चले मिललाई फोहरको व्यवस्थापनको निम्ति तत्काल कदम चाल्न आदेश जारी गरेको छ । सर्वोच्चले आदेश जारी गरेको करिब १४ वर्ष बितिसकेको छ । तथापि मिलले आदेशलाई कुनै टेर पुच्छर लगाएको छैन । सम्माननीय अदालतको आदेश कार्यान्वयन गराउने निकायहरु ग्ांभिर देखिएका छैनन ।

अदालतको आदेशको अपहेलना गर्ने उद्योगमाथि कारवाही गर्न नसक्नुले स्थानीय प्रशासनको पंगुपन र कर्मचारीहरुको नियतमाथि शंका उत्पन्न गरेको छ । कर्मचारीहरुले उद्योग संचालक संग मोटो रकम लिएर मौन बसेको आरोपलाई समेत यसले पुष्टि गर्दछ । लाखौ नागरिकको सरोकार र समग्र वातावरणकै ईकोसिष्टमलाई प्रभावित गर्ने गरि जारी रहेको उद्योगको लापरवाहीलाई पक्कै पनि सहज रुपमा लिन सकिन्न । तसर्थ यथाशिघ्र सर्वोच्चको आदेश पालना गराउन सम्बन्धित सरोकारवालाहरु अगाडि बढ्नुको कुनै विकल्प छैन ।

भने स्थानीयवासीहरु प्नि जागरुक भई दवावमुलक कार्यक्रम गर्नु पर्छ । कानमा तेल हालेर सुतेको प्रशासनको ध्यानाकृष्ट गर्न नागरिक जाग्नु पर्छ । समग्र विश्व नै वातावरण प्रति अत्यन्त संवेदनशिल बन्दै गएको बेला हामी कहाँ यस्तो कहाली लाग्दो अवस्था छ । यस प्रति स्थायी सरकारको रुपमा रहेको स्थानीय प्रशसन अत्यन्त गंभिर भई उद्योगमाथि हदै सम्मको कारवाही गर्न सक्नु पर्छ । लगभग डेढ दशक पुर्व सर्वोच्चले दिएको आदेश अझै सम्म पालना नगरेको एभरेष्ट पेपर मिल बन्द नै गरि वातावरण प्रति सम्मान गरि नयाँ नजीर स्थापना गर्नु पर्ने आजको घनिभूत आवश्यकता रहेको मेरो ठम्याई छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्