Logo
६ जेष्ठ २०८१, आईतबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुआमा मजदुरी गर्न गएका बेला ६५ वर्षीय वृद्धद्वारा बालिका बलात्कृत

सुनसरी : सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आरोपित परियारले गत बुधबार साढे १२ बजे दिउँसो घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर पौडेलले बताए । पीडित बालिकाको मेडिकल जाँच भइसकेको छ ।

बालिकाका बाबुआमा दुवै मजदुरी गर्न गएका बेला एक्लै बसेकी बालिकालाई भान्सा कोठामा लगेर बलात्कार गरेको छिमेकी सञ्जु अधिकारीले बताइन् । उनले भनिन्, ‘दिउँसो साढे १२ बजे परियारको घरबाट बालिका रुँदै, चिच्याउँदै भागेको देखेपछि के भयो भनेर सोधी खोजी गर्‍यौं । केरकार गर्दा हजुरबाले जबरजस्ती गरेको बताएपछि प्रहरीलाई खबर गरेका हौं।’

अधिकारीका अनुसार बालिका रुँदै भागेर नजिकै रहेको आफ्नो घरमा लुक्दासमेत परियार लखेट्दै आएका थिए । त्यसबेला बालिका डरले काम्दै घरको कुनामा रोइरहेकी थिइन् । बालिकाको मानसिक अवस्था विक्षिप्त बनेको पारिवारिक स्रोतले जनाएको छ । परियारले मादक पदार्थ सेवन गरेर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यस्तै बलात्कार आरोप लागेका परियारलाई म्याद थप गरी कानुनी कारबाही अघि बढाउने तयारी गरे पनि उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि बिहीबार परिवारको जिम्मा लगाएको डीएसपी पौडेलले बताए । उनका अनुसार स्वास्थ्य अवस्था सुध्रिएपछि प्रहरीमा बुझाउने सहमतिमा परिवारको जिम्मा लगाएको हो । ‘बलात्कारको मुद्दा दर्ता भइसकेको छ, कानुनबाट उनी कतै भाग्न सक्दैनन्। तर दीर्घरोगी भएकाले स्वास्थ्य उपचारपछि जसरी पनि कारबाही भएरै छाड्छ,’ उनले भने।

पुर्पक्षका लागि कारागार
इटहरी– १४ वर्षीया बालिका बलात्कारका दुई अभियुक्तलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । बुधबार जिल्ला अदालत सुनसरीमा भएको सुनुवाइमा न्यायाधीश विनोद गौतमको इजलासले जकब लिम्बू र मनीष श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण चिमरियाका अनुसार बुधबार ४ नम्बर इजलासमा भएको बहसमा जिल्ला न्यायाधिवक्ता भरतमणि रिजालले वादीका तर्फबाट बहस गरेका थिए । प्रतिवादीका पक्षमा अधिवक्ता मोहन कोइराला, सुरेशलाल श्रेष्ठ र शंकर पोखरेलले बहस गरेका थिए ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्