Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटनको विकासमा फार्मस्टे : सित्तैमा विदेशी कामदार, ५० हजार आम्दानी 

काठमाडौं : सस्तो मूल्यमा खान बस्न पाइने, नेपाली कला, संस्कृतिसँग घुलमिल पनि हुने र स्वयम्सेवकका रूपमा विभिन्न काम पनि सघाउने गरी नेपाली पर्यटन क्षेत्रमा नयाँ प्रडक्टका रूपमा ‘फार्मस्टे’को अवधारणा विकास हुन थालेको छ । पछिल्लो दशक ग्रामीण पर्यटनमा महत्त्वपूर्ण रहेको ‘होमस्टे’सँगै विगत २ वर्षदेखि ‘फार्मस्टे’का लागि नेपाल आउने विदेशी पर्यटक बढ्न थालेका छन् । प्रमुख पर्यटकीयस्थल रहेका स्थानमा खुलेका होमस्टे सफल भएपछि विदेशी पर्यटकको नेपाल बसाइलाई थप लम्ब्याउन फार्म स्टेले मद्दत पुर्‍याउन थालेको छ ।

स्थानीय स्तरमा उपलब्ध मौलिक र परम्परागत शैलीका घरहरूलाई व्यवस्थापन गरी पर्यटक लोभ्याउन अहिले होमस्टे महत्त्वपूर्ण देखिएको छ । विश्वका विभिन्न मुलुकमा स्वयंसेवीका रूपमा काम गर्ने गरी प्रयोगमा ल्याइएको फार्म स्टेलाई नेपालमा होमस्टेसँगै जोडेर पर्यटन र ग्रामीण क्षेत्रको अर्थतन्त्रको विकास गर्न पर्यटन व्यवसायी लागेका छन् । नेपाली फार्मस्टेसम्बन्धी जानकारी राखिएको हेल्पएक्स नामको वेबसाइटमा ६४ ओटा फार्मस्टे दर्ता भएका छन् । तिनै जानकारीका आधारमा विदेशका विभिन्न मुलुकबाट नेपालमा स्वयम्सेवीका रूपमा फार्मस्टेमा आउने र नेपालमा बस्ने पर्यटक बढिरहेका छन् । उक्त वेबसाइटमा दिइएको विवरणअनुसार नेपालमा कृषि, शिक्षा, पुनर्निर्माण, जडीबुटी, स्थानीय स्तरका परियोजनालगायत काममा सहयोग गर्ने गरी पर्यटक नेपालमा आइरहेको पाइन्छ । कम्तीमा १ सातादेखि बढीमा ६ महीनासम्मका लागि फार्मस्टेमा समय बिताउने गरी विदेशी नागरिक नेपालमा आइरहेका छन् । खाने बस्ने सुविधा फार्मस्टे सञ्चालकले नै व्यवस्था गर्ने भएकाले दैनिक न्यूनतम ५ डलरदेखि २० डलरसम्म तिरेर विदेशी नेपाल बसिरहेका छन् । फार्मस्टेका रूपमा अग्र्यानिक तरकारी, चिया, च्याउ, टनेलभित्र हुने बेमौसमी तरकारी, नर्सरी, टीइस्टेट, कफी, फलफूल खेतीमा संलग्न हुनेदेखि विद्यालयहरूमा अङ्ग्रेजी शिक्षा अध्यापन गराउने, पुनर्निर्माण तथा साना परियोजनाको काममा सघाउने काममा त्यस्ता पर्यटक नेपाल आउने गरेका छन् । एउटा फार्मस्टेले कामको प्रकृति हेरेर ५ जनादेखि २० जनासम्म स्वयम्सेवी पर्यटकलाई नेपालमा ल्याइरहेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, इलाम, चितवन, पोखरा, नवलपरासीलगायत स्थानमा यस्ता फार्मस्टे धेरै छन् । पोखराको हुम्दी, लामपाटामा रहेको फार्मस्टेले अग्र्यानिक कृषि, गाई फार्मलगायत काममा विदेशी स्वयम्सेवीलाई ल्याइरहेको छ । भक्तपुरको चाँगुनारायणमा रहेको फार्मस्टेमा आउनेहरूले स्थानीय बासिन्दाका खेतीपातीदेखि पुनर्निर्माणका काममा सघाउनुका साथै त्यहाँको रीतिरिवाज सिक्ने र आफूले जानेको सिकाउने गर्दै आएका छन् । इलाममा रहेका फार्मस्टेमा अग्र्यानिक चिया बगानमा काम गर्न आउने स्वयम्सेवीको सङ्ख्या बढ्दो छ । चियाका बोट रोप्ने, हेरचाह गर्ने, टिप्ने, प्रशोधन गर्नेदेखि बजारसम्म लैजाने काममा विदेशी स्वयम्सेवीले काम गरेका छन् ।

काभ्रेमा अवस्थित महाभारत पर्वत शृङ्खलाकै सबैभन्दा उच्च (३०१८ मि) स्थानमा रहेको बेथाञ्चोकका पर्यटन व्यवसायी कमल नेपालले विदेशी पर्यटकलाई फार्मस्टेमा ल्याउन थालेको डेढ वर्ष भइसकेको छ । गतवर्ष ३ सय ७० जना विदेशी पर्यटक भित्र्याएका उनले यो वर्षको माघसम्ममा ४ सय ५० जनालाई आफ्नो फार्मस्टेमा ल्याइसकेका छन् । ‘माउण्ट महाभारत होमस्टे एण्ड इको अर्गानिक फार्म’ सञ्चालन गरेर बसेका उनी होमस्टेसँगै फार्मस्टेमा पर्यटकलाई लामो समयसम्म नेपालमा राख्न सफल छन् । यसले नेपालको पर्यटनमा टेवा पुग्नुका साथै आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने उनको विश्वास छ । आफ्नो अनुभव सुनाउँदै नेपालले भने, ‘हाम्रो अनुभवमा विदेशी नागरिक केही नगरी बस्न सक्दैनन्, उनीहरू स्वभावले जिज्ञासु र सहयोगी भावनाका हुन्छन् । पर्यटकका रूपमा आएका यस्ता विदेशी पाहुनालाई लामो समय नेपाल राख्न पर्यटकीय क्षेत्रको अवलोकनका साथै होमस्टेको सुविधा र स्वयम्सेवकका रूपमा फार्मस्टेमा सजिलै काममा लगाउन सकिन्छ ।’ नेपाली परिवेशमा हुने काम सिक्न चाहने र आफूसँग भएको ज्ञान शीप आपसमा साट्न चाहने भएकाले विदेशी स्वयम्सेवकलाई फार्मस्टे आकर्षक प्याकेज बनेको छ । अग्र्यानिक कृषि उपज, जडीबुटी र अन्य तरकारी आफैले उत्पादन गरेर आफै पकाउने गरी उनीहरू समूह बनाएर आफ्नो फार्ममा आउने गरेको नेपालको भनाइ छ । शनिवारमात्रै ९ जनाको विदेशी समूह उनको फार्मस्टेमा आएको उनले बताए । विगत २ वर्षदेखि होमस्टे, ट्रेकिङ गाइड र फार्मस्टेमा उनी व्यस्त छन् । एक जना विदेशी बराबर उनीहरू बस्ने समयको आधारमा न्यूनतम ७ देखि १६ डलरसम्म शुल्क लिने गरेको उनले बताए । होमस्टेमा खाने बस्ने व्यवस्था गरेपछि विदेशीहरू आफूलाई चाहिने सम्पूर्ण काम आफै गर्ने गर्छन् । ‘महीनाको केही नभए पनि ५० हजार रुपैयाँ आरामले आम्दानी भइरहेको छ,’ नेपालले भने, ‘नेपालको हावापानी, वातावरण, यहाँको मनोरम दृश्य र अर्गानिक फार्मका लागि विदेशी नेपाल आउन धेरै नै इच्छुक रहेकाले यो व्यवसाय आम्दानीको सरल र सम्भावनाको क्षेत्रका रूपमा विकसित भइरहेको छ ।’ बेथाञ्चोकमा फार्मस्टे मात्रै नभएर मेडिटेशन, योगा र प्राकृतिक उपचार केन्द्रको समेत व्यवस्था रहेकाले विदेशी पर्यटक आफ्नो तनाव विसर्जनका लागि शान्त ठाउँको खोजीमा त्यहाँ जाने गरेका छन् । अभियानका अनुसार नेपालमा यस्ता मनोरम र शान्त वातावरण भएका स्थान धेरै नै रहेकाले प्रचारप्रसार गर्न सके धेरै विदेशी पर्यटकलाई फार्मस्टेमा तान्न सकिने देखिन्छ ।

होमस्टे नेपालमा प्रचलित भइसके पनि फार्मस्टेको अवधारणा प्रारम्भिक चरणमा रहेकाले धेरैलाई यसबारे थाहा छैन । पर्यटन मन्त्रालयअन्तर्गत रहने यस प्रडक्टलाई सरकारले अभियानकै रूपमा चलाउन सक्ने हो भने धेरै नेपालीले रोजगारी र सित्तैमा काम गर्ने स्वयम्सेवी पाउनेछन् । नेपालमा शहरकेन्द्रित सुविधासम्पन्न होटल तथा रिसोर्टहरूमा भन्दा ग्रामीण भेगमा पुगेर प्रकृति, स्थानीय कला संस्कृति र जीवनशैली अवलोकन गर्दै अग्र्यानिक खाना खान पाउनु पर्यटकका लागि नेपाल आउनुको राम्रो विकल्प हुँदै आएको छ । यसले नेपालको पर्यटन क्षेत्रको विकास, विदेशी मुद्रा आर्जन, ग्रामीण अर्थतन्त्रको विकास र नेपालका बारेमा विश्वसामु प्रचार गर्नमा मद्दत पुग्ने देखिन्छ ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्