Logo
२३ बैशाख २०८१, आईतबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो ।

नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ । मंगलबार आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने बाध्यता बनेको थियो ।

पूरै नेपाली खेल उल्टाएका करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे । सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रनमात्र बनाए । नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रहयो । डिभिजन–२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता थियो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब थियो । यद्यपी सुरुवाती अवस्थामा कमजोर प्रदर्शन गरेको नेपालका लागि करण केसी बरदान स्वरुप उदाएर नेपाललाई जित दिलाएरै छोडे ।

आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जित दर्ता गरेसँगै विश्वकप छनोट यात्रा पक्का भएको छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराएको थियो ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्