Logo
२३ बैशाख २०८१, आईतबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसले समानुपातिक प्रणालीतर्फको उम्मेदवारको नामावली बुझाउदै

काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले आजै नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाउने काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिए । काँग्रेसले प्राप्त गरेका सिटमा कम्तीमा २० महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिकरुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ४१, नेपाली काँग्रेस ४०, नेकपा (माओवादी केन्द्र) १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ / छ स्थान प्राप्त गरेका छन् । एमालेले प्राप्त स्थानमा उम्मेदवारको टुंगो लगाई आइतबार नै सूची आयोगमा बुझाएको छ भने अन्य दलले आज बुझाउने बुझिएको छ ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्