Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अन्‍नपूर्ण एक्सप्रेस’ नामक अंग्रेजी साप्ताहिक सार्वजनिक

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको कान्छो प्रकाशन अंग्रेजी साप्ताहिक ‘दी अन्नपूर्ण एक्सप्रेस’ शुक्रबार विशेष कार्यक्रमका बीच सार्वजनिक भएको छ । राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्र्वर थापाले ‘अन्नपूर्ण एक्सप्रेस’को पहिलो अंक सार्वजनिक गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अन्नपूर्ण मिडिया नेटवर्कलाई नयाँ प्रकाशन ल्याएकोमा बधाई दिए। ‘सञ्चार माध्यम प्रजातान्त्रिक शासन प्रक्रियाको खम्बा हो’, प्रधानमन्त्री देउवाले भने, ‘पत्रकारितालाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको खबरदारी गर्ने जिम्मेवारी भएकाले यो अझ बढी जिम्मेवार हुनुपर्छ ।’

देउवाले डिजिटल मिडियाको विकास र प्रभावसँगै पत्रकार जिम्मेवार हुनुपर्ने बताए। पत्रकारले दबाब र प्रभावमा पर्दा सञ्चार क्षेत्रमा विकृति आएको भन्दै उनले त्यस्तो दबाब र प्रभावमा पत्रकार पर्नु नहुने कुरामा जोड दिए। ‘डिजिटल मिडियाको प्रभावसँगै पत्रकार थप जिम्मेवार हुनुपर्ने आवश्यकता छ, तथ्यमा आधारित भएर समाचार लेख्नुपर्छ’, देउवाले सञ्चार क्षेत्रमा विकृति आएकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘पत्रकार दबाब र प्रभावमा पर्दा सञ्चार क्षेत्रमा विकृति आएको छ । पत्रकार कहिल्यै पनि दबाब र प्रभावमा पर्नु हुँदैन।’

कार्यक्रममा बोल्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन थापाले अन्नपूर्ण पोस्ट् दैनिकले विविधता दिने कोसिस गरेको बताए। ‘१६ वर्षदेखि प्रकाशित अन्नपूर्ण पोस्ट्लाई हामीले विविधता दिने कोसिस गरेका छौं’, अध्यक्ष थापाले भने, ‘समाचारमा विविधता दिएर समाजका सबै पक्षलाई समेट्ने कोसिस गरेका छौँ।’

थापाले अन्नपूर्ण मिडिया नेटवर्कले नयाँपन दिने क्रममा विभिन्न प्रकाशन र प्रसारण माध्यम ल्याएको प्रष्ट पारे। ‘अन्नपूर्ण पोस्ट्सँगै ‘अन्नपूर्ण टुडे’ पनि प्रकाशित गरेका हौं । अहिले हामीसँग ‘अन्नपूर्ण सम्पूर्ण’, रेडियो अन्नपूर्णसँगै एपीवान टेलिभिजन पनि छ’, थापाले भने, ‘एपीवान टेलिभिजनबाट फ्रेन्चाइज कार्यक्रम प्रसारण गरेर नेपाली टेलिभिजनमा नयाँ इतिहास बनाउन सफल भएका छौं ।’

देशको संघीय संरचनाअनुसार सबै सञ्चार माध्यममा सबै प्रदेशका समाचारलाई समावेश गर्ने प्रयास गरेर संघीयतालाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रयास गरेको समेत अध्यक्ष थापाले प्रष्ट पारे। ‘देश संघीय संरचनामा गएको छ। हाम्रा प्रकाशन र प्रसारणले सबै प्रदेशका समाचारलाई समावेश गर्ने प्रयास गरिराखेका छौं। यो हाम्रो संघीयतालाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रयास हो’, अध्यक्ष थापाले भने।

सबै सञ्चार माध्यममा समाचारमा विविधता दिइएको बताउँदै थापाले देश विदेशमा रहेका सबै नेपालीको भावनालाई समेट्ने प्रयासमा अन्नपूर्ण मिडिया नेटवर्क निरन्तर रहेको प्रष्ट पारे। ‘अन्नपूर्ण एक्सप्रेस अन्नपूर्ण मिडिया नेटवर्कको कान्छो प्रकाशनको रूपमा आएको छ। यसमा हामीले सातै प्रदेशका विविध समाचारलाई समेट्ने कोसिस गर्नेछौं’, सम्बोधनको अन्तिममा थापाले भने, ‘यो सबै कामका लागि हामीलाई श्रोता, पाठक, दर्शक र विज्ञापनदाताले विशेष साथ दिनुभएको छ ।’

कार्यक्रममा ग्रुप एडिटर विजयकुमार र अन्नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बरालले समेत सम्बोधन गरेका थिए। एक्सप्रेस सार्वजनिक समारोहमा विभिन्न दलका नेता, मन्त्री, पूर्वमन्त्री, सुरक्षा निकायका प्रमुखसँगै नेपाल सरकारका उच्च अधिकारी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्