Logo
२३ बैशाख २०८१, आईतबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ३ माओवादी संसदीय दलका नेतामा जमरकट्टेल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ । संसदीय दलको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर) लाई चयन गरेको छ ।

प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै संसदीय दलका नेता जमरकट्टेलले जनताको अपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजनालाई अगाडि बढाउने लक्ष्यका साथ आफ्नो पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताउनुभयो ।

संसदीय दलको बैठकलाई माओवादी केन्द्रका ३ नं प्रदेश इञ्चार्ज हितमान शाक्य र नेता झक्कुप्रसाद सुवेदीले सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभएको थियो । “जनताको ठूलो अपेक्षा छ, आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउनुपर्नेछ । यो अवस्थामा माओवादी केन्द्रका सदस्यको भूमिका महत्वपूर्ण र प्रभावकारी हुनु जरुरी छ”, नेताद्वयको जोड थियो ।

सुर्खेत– पार्टी प्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही (कालीकोट) चयन हुनुभएको छ । यहाँ आज बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद कृष्णा शाहले जानकारी दिनुभयो । संसदभित्र प्रभावकारी भूमिका खेल्नका लागि दलका नेता तथा मुख्यमन्त्रीका प्रमुख दावदार जुम्लाका सांसद नरेश भण्डारीको सयोजकत्वमा तीन सदस्यीय संसदीय विधान मस्यौदा समिति पनि गठन गरिएको सांसद शाहले बताउनुभयो ।

उहाँका अनुसार समितिमा रुकुम(पश्चिम)का सांसद विमला केसी र दैलेखका धर्मराज रेग्मीलाई सदस्यमा चयन गरिएको छ । अब बस्ने संसदीय दलको बैठकले माओवादी केन्द्रको भागमा परेको उपसभामुख र संसदीय दलका अन्य पदाधिकारीको चयन गर्ने उहाँको भनाइ छ । बैठकले दलको नेतामा चुनेसँगै शाहीलाई ६ नं प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुला भएको छ ।

वाम गठबन्धनबीच भएको सहमतिअनुसार यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख नेकपा (एमाले)को भागमा परेको छ । छ नं प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका छ र राप्रपाका एक सांसद छन् ।

एमाले संसदीय दलमा कँडेल
एमाले ६ नं प्रदेशले संसदीय दलका नेतामा यामलाल कँडेल (सुर्खेत) लाई चयन गरेको छ । ज्येष्ठ सदस्य पदमबहादुर रोकायाको अध्यक्षतामा आज यहाँ बसेको संसदीय दलको बैठकले सल्यानका सांसद प्रकाश ज्वालाको प्रस्ताव र जाजरकोटका सांसद करवीर शाहीको समर्थनमा उहाँलाई दलको नेतामा सर्वसम्मत चयन गरेको एमालेका उपाध्यक्ष तथा ६ नं प्रदेश संयोजक युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकबाट यही माघ २९ गते हुने सभामुखको निर्वाचनका उम्मेदवार तथा संसदीय दलका अन्य पदाधिकारी चयन गरिने संसदीय दलका नेता कँडेलले बताउनुभयो ।

विजयीलाई प्रमाणपत्र
प्रदेश नं ६ बाट राष्ट्रियसभा सदस्यमा विजयीलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतद्वारा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेल र प्रजिअ सीताराम कार्कीले संयुक्त रुपमा प्रमाणपत्र दिनुभयो ।

सो अवसरमा राष्ट्रियसभामा नवनिर्वाचित सदस्य कविता बोगटीले देश निर्माण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रदेशको समृद्धि र विकासका लागि हामी निरन्तर भएर लाग्नेछौँ, हाम्रो प्रमुख भूमिका नै यही हुनेछ ।”

अर्का सदस्य कालीबहादुर मल्लले प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने र आर्थिक समृद्धिलाई प्रमुख कार्यसूची बनाएर लैजाने बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलले सबै जनप्रतिनिधिलाई जनताका सपना पूरा गर्न अनुरोध गर्नुभयो । प्रजिअ कार्कीले विजयी सदस्यलाई जनमुखी भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्