Logo
२२ बैशाख २०८१, शनिबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सलहेस : द पिपुल्स हिरो’ का लागि अडिसनबाट कलाकार खोज्दै

१५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस: द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ । राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार कलाकारको अडिसन आव्हन गरिएको हो । कलाकारिता रुची भएका जोकोहीले एक महिनाभित्र फिल्मका लागि आवेदन गर्न सक्ने निर्माता राजकुमार महतोले बताए । महताको अनुसार आवेदनका आधारमा कलाकार खोज्दै फिल्म युनिट अडिसनका लागि देशको विराटनगर, जनकपुरधाम, नेपालगञ्ज, काठमाडौंसहित भारतको दरभंगा, पटना, मुम्बई, दिल्ली, कलकत्ता, बंगलादेशको ढाका र चीनको बेजिगंसम्म पुग्ने लक्ष्य छ।

फिल्ममा रहने सलहेस राजाजयवर्दन शैलेस, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० ऐतिहासिक मुख्य पात्रहरुसहित दर्जनौँ सपोर्टिङ रोल पनि अडिसनबाटै छनौट गरिने फिल्मका निर्देशक अमितेश शाहले जानकारी दिए । ‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकाले हामीले क्यारेक्टर सुहाउँदा कलाकार छनौट गर्छौ, चलेकै कलाकार राख्दा पनि क्यारेक्टर अनुसार अडिसन गराएरै राख्छौँ,’ निर्देशक शाहले भने ।फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन्। यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्डसमेत जितेको छ ।

करिब पाँच करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड, झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । ‘स्क्रिप्ट र रिसर्चका केही कामहरु बाँकी रहेकाले निर्माण घोषण भएको करिब एक वर्षपछि हामी अडिसनमा जाँदैछौं,’ निर्देशक शाहले भने, ‘अब काम द्रुतगतीमा हुन्छ । कलाकार छनौट हुनेवित्तिकै वर्कशप गर्छौ त्यसपछि सुटिङमा जानेछौँ ।’ मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । ’उनको वास्तविक नाम भने राजा जयवर्द्धन सैलेश थियो,’ सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने, ’ यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजाभए पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोहीपात्रका रुपमा समेत चिनिन्छ ।’

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्