Logo
२२ बैशाख २०८१, शनिबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा बैंक स्थापना नहुँदा काम गर्न असहज

बनेपा : काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैंकिङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता रहेको छ ।

जिल्लामा रहेका सात गाउँपालिकामध्ये महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली र रोशी गाउँपालिकामा कुनै बैंक स्थापना भएको छैन । भुम्लु गाउँपालिकाको दोलालघाटमा सिन्धु विकास बैंक र बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा ग्लोबल आइएमई बैंक स्थापना भएपनि पर्याप्त सुविधा नभएकाले धुलिखेल र बनेपा धाउनुपरेको छ ।

चौँरी देउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले योजना सम्झौताका काम गर्न समस्या भएको उल्लेख गर्दै बैंकका कारण भएका कर्मचारी पनि कार्यालयमा बस्न नपाउने अवस्था भएको बताए ।उनले भने अहिले पैसा राख्न र झिक्नका लागि चार दिन लाग्ने गरेको छ ।
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाटमा बैंक भए पनि प्रभावकारी नभएको जानकारी दिँदै बंगलादेश बैंकका लागि कार्यालयका तर्फबाट कोठा छुट्याए पनि अझै बैंक गाउँ नपुगेको बताए । गाउँपालिकाका १०९ वटा आयोजना छन्, त्यसको सम्झौता गर्न धुलिखेल धाउनुपर्ने अवस्था छ ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले बैंक नभएका कारण ठूलो सास्ती खेप्नुपरेकाले सानातिना आर्थिक कारोबारका लागि बनेपा र धुलिखेल जानुपर्ने बाध्यता रहेको बताए ।(रासस)

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्