Logo
५ जेष्ठ २०८१, शनिबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित ५ नेपाली महिला पत्रकार हिमाल चढ्ने तयारी

काठमाडौं : विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको चुचुरोवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित ५ नेपाली महिला पत्रकार हिमाल चढ्ने तयारी गरिहेका छन् । सगरमाथाको ८,८४८ मिटर अग्लो शिखरलाई चुम्ने मात्रै होइन, पत्रकारितामा लागेका कारण सोही स्थानवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित नेपाली महिला पत्रकारहरूको समूह लागि परेको हो । उनीहरू यसै वर्ष सगरमाथा आरोहण गर्ने तयारी गरिरहेका छन् ।

आगामी मे महिनाभित्र सगरमाथा आरोहण गर्ने गरी ५ महिला पत्रकार आरोहणको तयारी गरिरहेका छन् । विभिन्न बिटमा काम गर्ने उनीहरू आफ्नो आरोहणलाई टेलिभिजनमा ‘लाइभ’ गर्ने सोचमा छन् जसले गर्दा लाखौं मानिसलाई साहसका लागि प्रेरित गर्न सकोस् ।

‘सगरमाथाको शिखर त चढछौं नै, पत्रकारिता गर्ने भएकाले त्यहाँवाट प्रत्यक्ष प्रसारण पनि गर्ने उद्देश्यसहित प्रावधिक अध्ययन पनि गरिरहेका छौं, जो यसअघि कसैले गरेको छैन,’ पत्रकार रोशा वस्नेत भन्छिन्, ‘सगरमाथा शिखरवाट पत्रकारिता गर्ने उद्देश्य पनि हामीले बोकेका छौं ।’ वस्नेतको परिकल्पना अनुसार निमार्ण भएको टोलीमा ५ जना व्यावसायिक पत्रकार मात्रै छन, जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीको भाषामा भन्ने ‘सगरमाथा शिखर चुम्न खोज्ने पञ्चकन्या’ हुन ।

उक्त टोलीमा वस्नेत (रासस) सहित प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टिभी), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार)को समूह आवद्ध छ । ‘समानताका लागि बुलन्द आवाज’ नारासहित शिखर चुम्न खोजेको उक्त समूहले आफूलाई ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ नामाकरण गरेका छन् । उनीहरूले नेपाल पत्रकार महासंघको लोगो लिखित झन्डा सगरमाथाको शिखरमा फहराउने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आर्शिवाद लिएर अभियान सुरु गरेको उक्त समूहले दोलखामा अवस्थित रामदुङ (५९९१ मि.) र यालुङरी (५६३० मि.) हिमाल आरोहण गरिसकेका छन् । उक्त टोलीलाई १२ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पा (आरोहणका सरदार)को रेखदेख छ । शेर्पाले उक्त टोलीलाई सगरमाथा आरोहणका वारेमा प्रावधिकसहित अन्य ज्ञान दिँदै आएका छन् ।

उक्त आरोहण टोलीमा रहेकाहरूको परिचय पत्रकारमा मात्र सीमित भने छैन । नेपाल टेलिभिजनमा ‘आजको विज्ञान’ कार्यक्रम चलाउने बज्राचार्य नासाको वैज्ञानिक पनि हुन । थुप्रै नाटकमा अभिनय गरेकी बज्राचार्य लेखक झमक कुमारीको जीवनीमा बनेको फिल्म ‘जीवन काँडा कि फूल’की मुख्य अभिनेत्री पनि हुन् ।

नाटकसँग अभिन्न ठान्ने बज्राचार्य यही कारणले नेपालमा चलिरहेका सबै नाटकघरका झण्डा सगरमाथा लिएर जाने योजनामा छिन् । शिल्पी थियटरले त उनीहरूलाई सहयोग गर्न ‘विशेष नाटक’ मञ्चन गरेर आर्थिक सहयोग जुटाउने वचन दिएको छ ।

सो समूहमा रहेकी महर्जन यस अघि सन् २०१४ मा पनि सगरमाथा आरोहणको प्रयास गरेकी महिला हुन, जो पर्यटन पत्रकारितामा दख्खल राख्छिन् । ‘पहिला सगरमाथा चढन गएको थिएँ तर त्यो बेला भारतमा आएको हुतहुत आँधीले गर्दा बिचैमा छाड्न पर्यो । नदेख्ने सपना देखिहाले । पूरा गरेरै छाड्न मन छ,’ महर्जन भन्छिन्, ‘यो मेरो दोस्रो जन्म हो, म वाँचेकै सगरमाथा चढनलाई हो ।’ सो आँधीका कारण धेरैको ज्यान गएको थियो भने धेरै अंगभंग भएको थियो । महर्जनलाई पनि हेलिकोप्टरवाट उद्धार गरी काठमाडौं ल्याइएको थियो, जुन दुर्घटनाका कारण ५ दिन कोमामा राखे पछि मात्रै महर्जनको होस खुलेको थियो । महर्जन उक्त आरोहण टिमकी कप्तान पनि हुन ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्