Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक प्रशिक्षणको टुंगो केही दिनमा लाग्ने, मोन्टी देसाई नेपाल नआउने

काठमाडौं : एक महिनापछि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपालले प्रस्ताव गरेका कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक मोन्टो देसाई नआउने भएका छन् । नेपालले देसाईलाई प्रस्ताव गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अन्य तीन जनालाई कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनाउन नाम पठाएको छ ।यसअघि नेपाली युवा टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक भएर काम गरिसकेका देसाईलाई नेपाल ल्याउन लागिएको नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले बताएका थिए ।

आइसिसीले पठाएका कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा मुम्बईका उमेश पटुवाल र सुरक्षण कुलकर्नी र हैदरावादका अभिजित चटर्जी छन् । अब नेपालले पटुवाल, कुलकर्नी र चटर्जी मध्ये एकलाई कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक नियुक्त गर्नेछ । नेपाली टिममा यसअघि पनि काम गरिसकेकाले देसाईलाई ब्याटिङ प्रशिक्षक बनाउन नेपालले प्रस्ताव गरेको थियो । भारतीय प्रशिक्षक देसाईले नेपाली यू–१९ टिमको ब्याटिङ प्रशिक्षण सम्हालेका थिए । देसाईको ब्याटिङ प्रशिक्षणमा नेपाली युवा टिमले यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता र एसिया कप खेलेको थियो । देसाईले सन् २००८ देखि २०१३ सम्म इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको प्रशिक्षण सम्हालेका थिए ।

२०७३ बैसाखमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली क्रिकेट टिमको सम्पूर्ण व्यवस्थापन आइसिसीले हेर्दै आएको छ। आइसिसीको अनुमोदानबिना नेपालले प्रशिक्षक मात्र नभई वैदेशिक प्रशिक्षणका पनि जान सक्दैन। यसर्थ डिभिजन २ का लागि वैदेशिक भ्रमणको टुंगो पनि लाग्न सकेको छैन । नेपालले दक्षिण अफ्रिका र दुबईमा वैदेशिक प्रशिक्षण गर्न आइसिसीसँग प्रस्ताव गरेको प्रशिक्षक टमाटाले बताए। टमाटाले केही दिनमै आइसिसीले नेपालको प्रस्तावलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

मंगलबारबाट सुरु भएको पहिलो चरणको तयारीमा २१ खेलाडी सहभागी छन् । नेपालमा १५ दिन प्रशिक्षण गरेपछि २१ खेलाडीबाट राष्ट्रिय टिम घोषणा गरिनेछ। त्यसपछि नेपालले अन्तिम तयारी विदेशमा गर्नेछ। विदेशमा कम्तीमा ३ वटा अभ्यास खेल खेलेपछि नेपाल नामिबिया प्रस्थान गर्नेछ । डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालसहित युएई, नामिबिया र केन्या विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपबाट शीर्ष ४ मा पर्न नसकेपछि डिभिजन–२ मा झरेका हुन् । क्यानडा र ओमान भने डिभिजन–३ बाट उक्लिएका टिम हुन् भन्दै नेपाललाइभमा खबर छ ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्