Logo
२ जेष्ठ २०८१, बुधबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता-कार्यकर्तालाई नआत्तिन ढाडस : ‘मै बुढो त निराश भएको छैन’

काठमाडौं : पार्टीको पराजयबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलोपल्ट खुलस्त कुरा राखेका छन् । २०७० सालमा पहिलो भएको पार्टी यसपटक नराम्ररी पराजित भएपछि आलोचना खेपिरहेका देउवाले हारको कारण खुलाउँदै नआत्तिन नेता कार्यकर्तालाई ढाडस समेत दिएका छन् । एमाले र माओवादी मिल्दाको प्रतिकूल अवस्थामा पार्टी दोस्रो हुनुपरेको उल्लेल गर्दै देउवाले अनुशासनसहितको मेलमिलापको आवश्यकता भएको बताए ।

‘एमाले र माओवादी मिले । अर्कोतिर हामीमा मेलमिलाप नहुँदा र अनुशासनहीन हुँदा हामी हारेका छौं’ देउवाले भने, ‘म बुढो त निराश भएको छैन । तपाईं युवाहरु किन निराश हुनुहुन्छ ? तपाईंहरु ढुक्क हुनुस् अन्तर्घातीलाई कडा कारवाही गर्छु ।’ आफूलाई गाली गर्नेप्रति पनि देउवा खनिए । ‘विरोध गर्नेले बुझुन् । आफैं हार्ने अनि मलाई गाली गर्ने ?’ देउवाले भने, ‘तँ तँ म म गरेर केही हुँदैन । अनुशासनसहितको मेलमिलाप आवश्यक छ ।’

बिपी कोइराला २०३३ साल १६ पुसमा राष्ट्रिय मेलमिलापको लागि भारतको निर्वाचसनबाट फर्केको दिनको अवसरमा नेविसंघले गरेको ‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विचार गोष्ठीमा देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि हारबारे प्रष्ट्याएका हुन् ।

‘कांग्रेसले आफैं मेलमिलाप गर्न सकेको छैन । के को राष्ट्रिय मेलमिलाप गर्ला भन्ने कुरा उठे । अर्कोतिर पार्टी हारेको छ । यसमा म पनि जिम्मेवार हुँला’ देउवाले भने, ‘स्थानीय तहको निर्वाचनमा अन्तर्घातीलाई कारवाही नहुँदा यसपटकको निर्वाचनमा पार्टी झन् हार्न पुग्यो । हारबारे छानविन गर्न हाइ लेबल इनक्वायरी गठन गर्छु । यसले हारको कारण खोज्छ ।’

 

 

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्