Logo
५ जेष्ठ २०८१, शनिबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदूषणले किशोरहरूलाई आक्रामक बनाउँछ !

अत्यधिक वायु प्रदूषणले किशोरहरूमा आक्रामक व्यवहार बढाउन सक्ने एक अध्ययनले चेतावनी दिएको छ । जर्नल अफ एबनर्मल साइकोलोजीको पछिल्लो संस्करणमा प्रकाशित एक प्रतिवेदनले यस्तो देखाएको हो । सानासाना टक्सिक पार्टिकल्सहरू विकास हुँदै गरेको मस्तिष्कमा छिर्ने तथा यसले जलनको अवस्था निम्त्याउनुका साथै यसले निर्णय र भावना प्रवाह हुुने दिमागी बाटोमा अवरोध उत्पन्न गर्ने अमेरिकास्थित युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरू बताउँछन् । यस निष्कर्षले स्वच्छ हावाको महत्त्व र शहरी क्षेत्रमा थप बोटबिरुवाहरू रोप्न आवश्यक रहेको कुरालाई दर्शाएको उनीहरूको भनाइ छ ।

‘पार्टिकुलेट म्याटर २.५ (पीएम २.५) भनिने प्रदूषणको सानो पार्टिकल्स रौंको एक त्यान्द्रोभन्दा पनि ३० गुणा सानो हुन्छ, तर यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ,’ यस प्रतिवेदनका प्रमुख लेखिका डायना युनानले भनेकी छन् । यो सानो कणले फोक्सो र मुटुलाई नराम्रो असर गर्ने उनको भनाइ छ । पीएम २.५ ले दिमागी संरचना र न्यूरल नेटवर्कलाई हानि पुर्‍याउने हुुँदा यो हुर्कंदै गरेको दिमागका लागि सबैभन्दा खतरनाक रहेको बताइएको छ । यस अध्ययनले सुझाएअनुसार यसैबाट किशोरहरूमा आक्रामक व्यवहारको वृद्घि हुने उनीहरू अगाडि बताउँछन् ।

अनुसन्धानकर्ताले अमेरिकाको ग्रेटर लस एञ्जलसस्थित शहरी क्षेत्रमा यो अध्ययन गरेको थियो । वायु प्रदूषणले ९ देखि १८ वर्षसम्मका शहरी क्षेत्रमा बस्ने किशोरहरूमा आक्रामक व्यवहार बढाएको अध्ययनमा पाइयो । यससँगै बच्चा र अभिभावकबीचको खराब सम्बन्ध, सामाजिक पीडा र वंशाणुगत मानसिक समस्याले पनि उनीहरूमा आक्रामक स्वभाव बढाउन सहयोग गरेको पाइयो । अनुसन्धानकर्ताहरूले साउथर्न क्यालिफोर्नियामा सन् २००० देखि सन् २०१४ सम्म त्यहाँको दैनिक वायु प्रदूषणको स्तर मापन गर्न २५ ओटा वायु गुणस्तर मापन गर्ने मोनिटर राखेका थिए । फोक्सो र मुटुका लागि वायुप्रदूषण हानिकारक हुने हामीले सुन्दै आए पनि पछिल्लो समयमा भएको अनुसन्धानले भने प्रदूषणले हाम्रो मस्तिष्क तथा यसका व्यवहारलाई समेत प्रभावित गर्ने कुराहरू आइरहेको बताइन्छ । पीटीआई

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्