Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौन अवधि शुरू

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सोमवार राति १२ बजेबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल, उम्मेदवार, मतदाता र सर्वसाधारण सबैले अब कुनै पनि दलको पक्ष विपक्षमा मत माग्न, सभा सम्मेलनको आयोजना गर्न, पोष्टर टाँस्न तथा भोज भतेर गर्न र आचारसंहिता उल्लङ्घन गर्न पाउने छैनन् । दोस्रो चरणमा ४५ जिल्लामा हुने निर्वाचनका लागि मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न नहुन निर्वाचन आयोगले सबैमा आग्रह गरेको छ ।

यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने, मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाउनुपर्ने र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको उनले बताएका छन् ।

मौन अवधिमा आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण नगर्न आयोगले भनेको छ । यस अवधिमा फेसबूक, भाइबरलगायत सामाजिक सञ्जालको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्नसमेत आयोगले प्रतिबन्ध लगाएको छ । मौन अवधिको उल्लङ्घन गर्ने जो कसैलाई कडा कारबाही गरिने आयोगले बताएको छ ।

निर्वाचनको तयारी पूरा
प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ पदमा हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको आयोगका प्रवक्ता ढकालले बताए ।

चुनाव हुने प्रायः सबै मतदानस्थलमा मतदान अधिकृत पठाउने, सुरक्षाको प्रबन्ध र आवश्यक सामग्री पठाउने काम सकिएको उनले जानकारी दिए । मतदान अधिकृतले मङ्गलवारदेखि मतदाता परिचयपत्र, मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा प्रबन्ध मिलाउने काम गर्नेछन् ।
प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले यो निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने छन् ।

नेपाल भारत सीमा बन्द
मौनअवधिसँगै दोस्रो चरणको निर्वाचनका लागि नेपालसँग जोडिएका सबै सीमानाका ७२ घण्टाका लागि सिल गरिएको छ । सोमवार राति १२ बजेदेखि सिल गरिएका सिमानाका चुनाव सकिएपछि मङ्गलवार राति १२ बजेदेखि खुल्नेछन् । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमापारिबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सिमानाका बन्द गरिएको हो ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्