Logo
२२ बैशाख २०८१, शनिबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेशशिल साझा पार्टीका रवीन्द्र मिश्र र उज्ज्वल थापालाई नौ प्रश्न

‘सडकमा भन्दा सामाजिक सञ्जालमा बढी उपस्थिति देखाउने’ विवेकशील साझा पार्टीका एक संयोजक उज्ज्वल थापाले केही दिन पहिले भान्साकोठामा रोटी बेल्दै गरेको भिडियो पोस्ट गरे । उनको सन्देश थियो, ‘स्थानीय चुनावअघि घरघरमा वाइफाई ल्याउँछु भन्ने दल अहिले कता लागे ? मैले चुनाव जिते यस्ता गलत आश्वासन दिनेहरूको अध्ययन गर्दै त्यसविरुद्ध निरन्तर खबरदारी गर्छु ।’ थापाको भन्दा अझै प्रभावकारी भिडियो पोस्ट गरे अर्का संयोजक तथा बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले ।
सो भिडियोमा चुनावी प्रचारमा हिँडेका मिश्रलाई भेट्न आएकी एक महिलाले आँसु झार्दै ‘तपाईंहरूलाई खान पुग्छ, लोभ नगर्दिनु होला’ भनेकी छन् । सो भिडियो फेसबुकमा मात्रै बिहीबार बिहानसम्म १३ हजार चार सय ३४ जनाले ‘सेयर’ गरेका छन् । गत साउनमा विवेकशील नेपाली दल र साझा पार्टी मिलेर बनेको विवेकशील साझा पार्टीको अहिलेसम्म कुनै भ्रातृ संगठनसमेत नबनेको अवस्थामा राष्ट्रिय राजनीतिमा राम्रो चर्चा छ ।

-प्रकाश आस्था

विपक्षी दललाई गाली गरेर चुनाव लड्ने चलनविपरीत व्यवस्थित, सिर्जनात्मक र इन्टरनेटकेन्द्रित प्रचारका कारण विवेकशील साझा पार्टीका उम्मेदवारले चर्चा त बटुलेकै छन्, पहिल्यै सञ्चार सेलिब्रिटीका रूपमा स्थापित मिश्रलाई चुनावले झनै लोकप्रिय बनाइदिएको छ। राजधानीका मतदाता जहिल्यै ‘अस्थिर’ रहने गरेको सन्दर्भमा यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि त्यस्तै हुने त होइन भन्ने आकलन गरिँदैछ ।
मिश्र पहिलोपटक काठमाडौं १ बाट चुनाव उठेका छन्, त्यो पनि उपप्रधानमन्त्रीसमेत रहिसकेका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँगै । उज्ज्वल थापा काठमाडौं ५ बाट एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतसँग भिड्दैछन् । थापा र मिश्र दुवैजनालाई विवेकशील साझा पार्टीले महाधिवेसनसम्मका लागि ‘संयोजक’ तोकेको हो । चुनावी माहोल तात्दै जाँदा मिडियाबाटै आएका रवीन्द्र र आइटी पढेका उज्ज्वल र उनको पार्टी विसापालाई सामाजिक सञ्जालमा विपक्षी शक्तिका आम कार्यकर्ताले विभिन्न मञ्चमा अनेक प्रश्न राखेका छन्:
१.विचारविनाको दल
यस आरोपमा पार्टी घोषणा हुँदा नै थापाले जवाफ दिएका थिए, ‘नेपालमा कि त लेफ्ट कि त राइट छन् । हामी लेफ्ट पनि हिँड्दैनौं, राइट पनि हिँड्दैनौं, केवल फरवार्ड (अघि) हिँड्छौं ।’ थापाको जवाफमा मिश्रले थपेका थिए, ‘हामी लेफ्ट र राइटको बीचतिरै छौं, तर अलिकति लेफ्टतिर ढल्किएका छौं किनभने हामी लोककल्याणकारी राज्य र सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्छौं ।’ थापा यसमा थप्छन्, ‘हामी दायाँबायाँ छोडेर सीधै समृद्धिको उकालो चढ्न चाहन्छौं । पुराना दलजस्तो उन्नाईसौं र बीसौं शताब्दीको विचार र दर्शनमा हामी अडिन्नौं । थापाले ‘उकालो’ को सरल व्याख्या गरे, ‘उ’ को अर्थ उद्यमशीलता, ‘का’ को अर्थ काम गरी खाने वातावरण, ‘लो’ को अर्थ लोकतन्त्र संस्थागत गर्ने ।’
२. छोटो इतिहास
इतिहासको धक्कु लगाएर आफूहरूले राजनीति नगर्ने विवेकशील साझा पार्टीका दुवै नेताको भनाइ छ । थापा भन्छन्, ‘पञ्चायत र राणा शासनविरुद्ध आन्दोलन आवश्यक थियो, तर अहिले ‘फलानो दल भर्खरै जन्मिएको हो, त्योसँग राजनीति गरेको अनुभव छैन’ भन्नुमा तुक छैन । जीर्ण नेतृत्वबाट परिवर्तन असम्भव देखियो, त्यसलै हामी उदायौं ।’ थापा थप्छन्, ‘विशाल भारत-चीनबीच नेपालको भूमिका के छ ? ठूला दलबीच विवेकशील साझा पार्टीको भूमिका पनि त्यस्तै हो ।
दललाई गाली गरेर चुनाव लड्ने परम्पराविपरीत व्यवस्थित, सिर्जनात्मक र इन्टरनेटकेन्द्रित प्रचारका कारण विवेकशील साझा पार्टीका प्रायः सबै उम्मेदवारले चर्चा बटुलेका छन् ।
अहिले सानो भए पनि राष्ट्रिय शक्ति बनेर भोलि भारत र चीनलाई नै ट्याकल गर्दै देश हाँक्ने शक्ति हामी बन्ने हो ।’ भत्केको धरहरा बनाउन नसकेर चार फिटको सानो धरहरामा चित्त बुझाउनुपर्ने अवस्था सिर्जना गरिदिने पुराना शक्तिले भोट माग्ने नैतिक आधार गुमाएको थापाको तर्क छ । यस आरोपमा मिश्र मत छ, ‘हामीले आजसम्म राज्यलाई दोहन गरेर खाएनौं । श्रम गरेर, इमानको धरातलमा उभिएर पेसागत र सामाजिक रूपमा यो देशलाई योगदान नै पुर्‍याएका छौं । त्यही योगदान हो हाम्रो इतिहास ।’ देशका लागि गरिएको आन्दोलनको दुहाइ दिँदै त्यसको ब्याज खानु उपयुक्त नहुने मि श्रको मत छ ।
३. एलिट क्लब
यदाकदा लाग्ने यो आरोपमा मिश्रले आफू सम्पन्न परिवारमा जन्मेको भए पनि डोटी र दार्चुलाको स्कुलमा सुकुलमा बसेर पढेको प्रसंग उल्लेख गर्ने गरेका छन् । काका सरकारी अधिकृत भएकै कारण आफूले कक्षा ५ देखि १० सम्म डोटी र दार्चुलाका स्कुलमा सुकुलमा बसेर पढेको स्मरण गर्दै मिश्र भन्छन्, ‘मैले सहरीका सुख र गाउँको दुःख बुझेको छु । भाग्यले अलिकति प्रगति गरें । बीबीसीमा जागिर खानुअघि मेरो आर्थिक स्थिति राम्रो थिएन । म र मजस्तै हाम्रा साथी कसरी एलिट ? ’ थापाको मत यसमा अलिक फरक छ । उनी भन्छन्, ‘प्रायः सबै सचेत आन्दोलन सहरबाट सुरु भएका छन् । त्यसो हुँदा हामी सहरवासी भएकोमा किन चित्त दुखाइ ? आखिर हाम्रो चाहना त समग्र राष्ट्रको विकास नै हो ।’ एलिट क्लब (सहरीहरूको गफ गर्ने थलो) भनेर आरोप लागेको विसापाले देशभर प्रतिनिधिसभा र प्रदेशसभामा १५७ छ र समानुपातिकमा ८० उम्मेदवार उठाएको छ।
४. गोविन्द केसीको समर्थन
तीन करोड नेपालीको स्वास्थ्यको विषय निजी नभएको थापाको बुझाइ छ । उनी भन्छन्, ‘यस विषयमा हामी त अझै लाग्छौं । केसीकै आन्दोलनका कारण चिकित्सा शिक्षा अध्यादेश आएको छ । हामी भोलि संसद्मा पुगेपछि त्यसलाई ऐन बनाउन पहल गर्नेछौं । काठमाडौं ५ को चुनावी मुद्दासमेत बनाएको छु यसलाई मैले ।’ मिश्रको मत थापाको भन्दा अल्लि सन्तुलित छ, ‘केसीका जायज मुद्दाप्रति हाम्रो पूर्ण समर्थन छ ।’
५. महिलामैत्री छैन
यस प्रश्नमा थापाको सफाइ छ, ‘हाम्रा केन्द्रीय सदस्य नै एकतिहाइ महिला छन् । रन्जु दर्शनाजस्ता भर्खरका युवतीदेखि शोभा शाक्यजस्ता अनुभवी महिलालगायत ३७ जना केन्द्रीय सदस्य महिला छन् ।’ यसमा रवीन्द्र मिश्र भन्छन्, ‘काठमाडौंमा पाँचजना महिला त प्रदेश र प्रतिनिधिसभाबाटै भिडिरहनुभएको छ । सबै ठाउँमा त चाहेजति महिला पाएको पनि होइन । हामी राजनीतिमा महिला सामेल गर्न र प्रेरित गर्न अत्यन्त इच्छुक छौं ।’
६. एनजीओ परिचालित !
विवेकशील साझा पार्टी कतैबाट परिचालित र कसैको सहयोगमा चलेको आरोप पनि सामाजिक सञ्जालमा चलेका छन् । थापा भन्छन्, ‘हामी शतप्रतिशत नेपाली दानमा चलेको पार्टी हौं । हामीलाई ८२ प्रतिशत नेपाली हिन्दु, १० प्रतिशत नेपाली बौद्धमार्गी र बाँकी अन्य सबै जात, सम्प्रदायका नेपालीले सहयोग गरेका छन् । हामीले दान कहाँबाट पाएको र कति पैसाको चिया खाएकोसमेत खर्च विवरण छ ।’
२०४६ सालपछिको परिवर्तनपछि उदाएका दलकै कालखण्डमा नेपालमा एनजीओ र आईएनजीओको बिगबिगी भएको र तिनै दलका नेताकार्यकर्ताको त्यसमा धेरै सहभागिता भएकाले यस्तो आरोप लगाउने नैतिक आधार ती दलसँग नभएको थापाको तर्क छ । यसमा मिश्रको मत छ, ‘कुनै पनि विदेशी संस्थाको पैसा खाएको अथवा अन्य कुनै धर्म फैलाउन काम गरेको प्रमाणित कसैले गर्न सके हामी तुरुन्तै यो पार्टी भंग गर्न प्रस्ताव गर्नेछौं । आजसम्म बनाएको सद्भाव, सम्मान र ‘नाक’ काटेर फाल्ने इच्छा छैन ।’
७. विवादित व्यक्तिको संलग्नता
विवेकशील साझा पार्टीमा संलग्न कतिपय व्यक्ति विवादित पृष्ठभूमिको रहेको भन्ने आरोपमा मि श्रको सफाइ छ, ‘अलिकति पनि विवादै नभएका मान्छे कहाँबाट ल्याउने ? मेरा पनि कमजोरी छन् र मेरा देउताका पनि कमजोरी थिए । मान्छेलाई समग्रमा हेर्नुपर्छ ।’ यसमा थापाको भनाइ छ, ‘पार्टीमा कसैलाई संलग्न गर्नुपूर्व उनीहरूको पृष्ठभूमि अवश्य हेर्नुपर्छ तर उनीहरूले आफूलाई सुधार्ने प्रयास गरेका छन् कि छैनन् त्योचाहिँ हामी हेर्छौं । तर त्यसको मतलब हिजो समाजमा अनेक खालका आतंक मच्चाएका ‘डन’ हरूलाई भने हाम्रो पार्टीमा स्थान छैन । अरू त जस्तोसुकै पृष्ठभूमिबाट आएको हो भने पनि नियत सफा भएका सबैलाई पार्टीको ढोका खुला छ ।’
८. हेल्प नेपालसँगको सम्बद्धता
रवीन्द्र मिश्र बीबीसीमा पत्रकारकै रूपमा कार्यरत रहँदा ‘हेल्प नेपाल नेटवर्क’ नामको संस्थाबाट सामाजिक सेवामा संलग्न भएका थिए । त्यसैसँग जोडेर पनि उनलाई धेरैले अनेक प्रश्न गर्ने गरेका छन् । यसमा मिश्रको सफाइ छ, ‘राजनीति गर्छु भनेर बीबीसी छोडेकै दिन परोपकारी संस्थालाई राजनीतिमा मिसाउन हुन्न भनेर मैले सो नेटवर्कबाट आफू अलग रहेको घोषणा गरें ।’ मिश्रका अनुसार नेटवर्क नेपाललगायत अन्य सात देशमा दर्ता भएको छ र हरेक देशमा नेपालीले नै त्यसको नेतृत्व गरेका छन् । मिश्र भन्छन्, ‘नेपालमा त्यसको नेतृत्व अरुणसिंह बस्नेतले गर्नुहुन्छ । त्यसको आर्थिक कारोबार पारदर्शी छन् । वेबसाइटमा अडिट गरेको रिपोर्ट जोसुकैले हेर्न सक्छन् । थप चाहिएमा त्यसको कार्यालयमा गएर सोध्न सकिन्छ ।’
९. धनी स्कुललाई सहयोग !
विरलै नाम सुनिएका अनलाइन साइटमा मिश्रले प्रायः धनीमानीका छोराछोरी पढ्ने ललितपुरको रातो बंगला स्कुलका लागि नेटवर्कको पैसा सहयोग गरेको विषयबारे उनी भन्छन्, ‘हामीले नेपालका गाउँगाउँमा करिब ४० वटा पुस्तकालय र ४० वटा कक्षाकोठा बनाएका थियौं र त्यो क्रमलाई नेटवर्कले जारी राखेको छ । हामीले चार लाख ९६ हजार रुपैयाँ खर्च गरेर रातो बंगला फाउन्डेसनका तालिमप्राप्त र दक्ष व्यक्ति प्रयोग गरेर काभ्रेका नौवटा सरकारी प्राथमिक विद्यालयमा तालिम दिलाएका हौं । यस विषयलाई लिएर रातो बंगला स्कुललाई पैसो दियो भन्न मिल्छ? ’

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्