Logo
६ जेष्ठ २०८१, आईतबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण कसैको बहुमत आउने छैन , ‘मधेशवादी र साना दलको भाउ बढ्नेछ’

नेपाल प्रहरीका एकजना पूर्व महानिरीक्षकले वामगठबन्धन भएपनि आगामी निर्वाचनबाट फेरि कसैको बहुमत नभएको संसद निर्माण हुने दावी गरेका छन् । उनले वाम गठबन्धनमा देखिएको टिकट वितरणको रस्साकस्सीले गर्दा निर्वाचनपछि तुरुन्तै पार्टी एकता हुने कुरामा विश्वस्त हुन नसकिनेपनि अनुमान पनि गरेका छन् ।

पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले दुईतिहाईको उद्देश्यसहित गठन भएको वामगठबन्धनले सामान्य बहुमतसमेत नल्याउने बताउँदै प्रत्यक्षतर्फ चाहिँ नेपाली कांग्रेसले नमज्जासँग चुनाव हार्ने दावी गरेका हुन् ।

शुक्रबार अपरान्ह आफ्नो फेसबुकवालमा पूर्व प्रहरी महानिरीक्षक शाहले लेखेका छन्, ‘एमालेसँगपनि बहुमत हुनेछैन। तर ठूलो दल बन्ने सम्भावना छ, संसद फेरिपनि त्रिशंकु नै हुनेछ ।’ त्यो स्थितिमा तेस्रो दल र अन्य मधेशवादी लगायत अन्य साना दलको भाउ आकासिने दावी पनि उनले आफ्नो फेसबुकमा गरेका छन् ।’ कुन चाहिँ दल तेस्रो होला, त्यो चाहिँ उनले खुलाएका छैनन् ।

माओवादी केन्द्रको तर्फबाट निवर्तमान संसद सदस्य समेत रहेका शाह थप्छन्, ‘अहिले देखिएको गठबन्धन नयाँ सरकार नबनुन्जेलका लागिमात्र होला । त्यसपछि नयाँ गठबन्धनको कसरत हुने प्रवल सम्भावना छ ।’ अहिलेका दुवै गठबन्धन नयाँ सरकार नबनुन्जेलसम्मका लागि हुने, त्यसपछि नयाँ गठबन्धनको कसरत शुरु हुने सम्भावना रहेको विश्लेषण छ शाहको ।

उनी भन्छन्, ‘अहिले देखिएको ध्रुवीकरणबाट नेपाली कांग्रेसले बेहोरेको घाटा एमाले, माओवादी केन्द्र, जनमोर्चा, दुवै राप्रपा, मधेशकेन्द्रित दल, नयाँशक्तिहरुले बाँडचुँड गरेर लिनेछन्।’ प्रत्यक्षतर्फ नमीठो पराजय भोगेपनि समानुपातिकतर्फ कांग्रेसले राम्रो स्थान ल्याउने उनी बताउँछन् ।

आफ्नो विश्लेषण नमिल्नपनि सक्ने बताउँदै शाहले निर्वाचन समयमा नै हुने बताएका छन् । निर्वाचन नभएमात्र संसद पुनस्र्थापना हुने बताउँदै शाहले निर्वाचन नगराउँदा कांग्रेसलाई घाटा हुने भएकालेपनि निर्वाचन हुने दावी गरेका हुन् । उनी भन्छन्, पहिले दुई दुई पटक निर्वाचन गराउन नसकेकोले जुन दाग लागेको छ, त्यो मेटाउन पार्टीले हारेपनि आफ्नो व्यक्तिगत शाख जोगाउन प्रधानमन्त्रीले चुनाव गराई छाड्नेछन्।

उनले वामगठबन्धनको सफलताको अप्रत्यक्ष रुपमा कामना समेत गरेका छन् । गठबन्धनले दुई तिहाई बहुमत ल्याउँदामात्र राजनीतिक स्थिरता आउने उनको कथन छ । ‘गठबन्धनले दुई तिहाई ल्याएमात्र गठबन्धनको औचित्य सावित हुनसक्छ’ शाह थप्छन्, ‘किनकी त्यसले संविधान संसोधन गरेर संसदीय प्रणालीलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा रुपान्तरण गर्न सक्छ, नत्र राजनीतिमा अस्थिरता कायमै रहनेछ ।’

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्