Logo
५ जेष्ठ २०८१, शनिबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुहोस् : महिलामा यौन चाहनाबारे यस्तो छ, अध्ययन रिर्पोट

लामो अवधिको सम्बन्धमा आफ्नो पार्टनरप्रति सँधै उत्तिकै आकर्षित रहिरहन निकै मुस्किल छ। उमेरसँगै जोडीहरुमा यौनाकर्षण घट्दै जान्छ। तर हालै गरिएको एक अध्ययनले लामो अवधिको सम्बन्धमा पुरुषले भन्दा दोब्बर मात्रामा महिलाले आफ्नो पार्टनरप्रतिको यौन चाहना गुमाउने देखाएको छ।

मानिसको यौन चाहनाबारे बेलायतमा गरिएको सो अध्ययनमा एक वर्षभन्दा लामो सम्बन्धमा महिलाले यौन चाहना गुमाउने गरेको देखिएको हो। तर पुरुषहरुले समयसँगै पार्टनरप्रतिको यौन चाहना कम नहुने बताएका छन्।

बेलायतमा १६ देखि ७४ वर्षबीचका करिब ५ हजार पुरुष र ६ हजार ७ सय महिलाको अनुभवलाई आधार मानेर सो अध्ययन गरिएको हो। अध्ययनमा सहभागीमध्ये १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाले अघिल्लो वर्ष तीन महिना वा त्यसभन्दा लामो अवधिका लागि यौन चाहना गुमाएको बताएका थिए।

३५ देखि ४४ वर्षबीचका पुरुषहरुमा सबैभन्दा बढी यौनेच्छाको कमी रहेको पाइएको थियो भने महिलाहरुमा चाहिँ ५५ देखि ६४ वर्षबीचमा।

यद्यपि यसमा महिनावारी रोकिनुको कुनै सम्बन्ध नरहेको युनिभर्सिटी अफ साउथह्याम्पटन र युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताहरुले जनाएका छन्।

एकै पार्टनरसँग लामो समय बस्दा पनि महिलाको यौन चाहना कम हुने सम्भावना बढी देखिनुका साथै पुरुष पार्टनरले भन्दा महिलाले यौन चाहनामा आएको कमीबारे गुनासो गर्ने सम्भावना दोब्बर रहेको सो अनुसन्धानमा पाइएको छ।

किन आउँछ यौन चाहनामा कमी?

सामान्यतः खराब स्वास्थ्य र यौन सम्बन्धका क्रममा भावनात्मक निकटताको कमी महिला र पुरुष दुवैमा यौन चाहनाको कमीका लागि जिम्मेवार मानिन्छ।

महिलामा भने घरमा कलिला केटाकेटी हुनुले पनि यौनेच्छा कम गर्न भूमिका खेल्ने गरेको पाइएको छ।

पहिलो पटकको खराब यौन अनुभवका कारण पनि महिलाहरुमा यौन चाहनाको कमी हुनसक्ने सम्भावना रहन्छ। महिलाको कुमारित्वसम्बन्धी विद्यमान धारणाका कारण पर्ने दबाब र कुमारित्व गुमाउँदा हुने पछुतोका कारण यस्तो हुनसक्ने अनुसन्धानकर्ताहरुले सुझाएका छन्।

त्यस्तै विगतमा तीन वा त्यसभन्दा बढी पार्टनर भएका र पार्टनरको यौन प्राथमिकताहरु आफूसँग नमिलेमा पनि महिलामा कम यौन चाहना हुने देखिएको थियो।

सो अध्ययन बिएमजे ओपन जर्नलमा प्रकाशित छ। अध्ययनअनुसार महिला र पुरुषले महसुस गर्ने यस्तो फरक पुरुषहरुको यौन चाहना बढी र महिलाको कम हुन्छ भन्ने विद्यमान स्टेरियोटाइपले पनि प्रभाव पारेको हुनसक्छ।

महिला र पुरुषको आवश्यकता परिवर्तन हुने कैयौँ कारणहरुले गर्दा यौन चाहना गुमाउनु अस्वभाविक नभएको विशेषज्ञहरु बताउँछन्।

‘केहीका लागि यो प्राकृतिक र सामान्य हो भने केहीका लागि पीडा र दुःखको स्रोत,’ सेक्स थेरापिस्ट अमान्दा मेजर भन्छिन्।

अनुसन्धानकर्ताहरुले यौन चाहनासम्बन्धी समस्यालाई कुनै औषधीको भरमा ठीक गर्न खोज्नुभन्दा मानिसको समग्र उपचारमा ध्यान दिनु आवश्यक रहेको बताएका छन्।

अनुसन्धानमा आफ्नो पार्टनरसँग यौनबारे सहज रुपमा कुरा गर्न सक्नेहरुमा यस्तो समस्या कम रहेको देखिएको छ।

यो अध्ययनले महिला र पुरुषमा हुने यौन चाहनाको कमीलाई बुझ्न थप सहयोग गर्ने युनिभर्सिटी अफ साउथह्याम्पटनकी प्राध्यापक सिन्थिया ग्राहमले बताएकी छन्। उनले औषधी मात्रैले यो समस्या समाधान नहुने बताइन्।

यौन चाहना बढाउनका लागि पाँच टिप्स
१. समस्या बढ्नुभन्दा पहिले नै यसबारे कुरा गर्नुहोस्, यसलाई बेवास्ता गर्दा यसले अन्य समस्यामा पुर्‍याउनसक्छ। तपाईं यसबारे किन कुरा गर्न चाहनुहुन्न, त्यसको कारण खोज्नुहोस्।
२. आत्मीयता बढाउने अरु तरिकाको खोजी गर्नुहोस्। उदाहरणका लागि हात समात्ने, एकअर्कासँग नरम तरिकाले कुरा गर्ने, प्रेमालिंगन गर्ने, थप्थपाउने।
३. आफ्नो कुरा नसुनिएको महसुस हुनुले यौनमा बाधा पुर्‍याउँछ। त्यसैले आफ्नो पार्टनरलाई सम्मानित तथा महत्वपूर्ण भएको महसुस गराउनुहोस्।
४. सेक्स थेरापिस्ट, रिलेसनसिप काउन्सिलर, आदिबाट थप सहयोग लिनुहोस्।
५. चिन्ता नगर्नुहोस्, शान्त र आरामदेह बन्नुहोस्। दुवै पार्टनर सँगै त्यो अवस्थामा पुग्ने हो भने गैरयौनिक सम्बन्धहरु पनि टिकाउ र कामलाग्दो हुन्छन्। #करेन्टटक्स डटकम/एजेन्सी

प्रकाशित मिति: Sep 14, 2017

प्रतिक्रिया दिनुहोस्