Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरस्कारको केही रकम राहतमा, केही किसुनजीको नाममा ‘सोमरस’का लागि : पत्रकार विजयकुमार

काठमाडौं : कार्यक्रममा तालीको गड्गडाहट सबैभन्दा बढी त्यतिबेला सुनियो, जतिबेला वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले सोमसरको स्वादिलो प्रसङ्ग निकाले । सन्दर्भ नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन उदघाटनसत्रको हो जहाँ वरिष्ठ पत्रकार पाण्डेले सम्बोधनका क्रममा उपस्थित सञ्चारकर्मीको रमाइलोसँग आलोचना गरे, साथमा उपदेश पनि दिए । ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएपछि पत्रकार पाण्डेले आफ्नो मन्तब्य राख्दै सुरुमै ‘यहाँ ठूला सम्पादकहरू किन देखिएनन् ? यहाँ सबै राजनीतिक दलनिकट पत्रकार नै मात्र बढी किन देखिए ?’ भन्ने प्रश्नसहित सुरुमै आयोजकको आलोचना गरेका थिए ।

उनको कुरा तब बढी मजेदार र रोचक बन्न पुग्यो जब उनले ‘किसुनजीले जीवित कालमा त मलाई केही दिनुभएन तर आज उहाँको नाममा पुरस्कार पाएको छु, अलिकति उहाँलाई पनि भाग छुट्याउनै पर्‍यो, त्यसैले पुरस्कारको आधा रकम प्रधानमन्त्री राहत कोषमा दिनेछु भने आधा रकम त किसुनजीको नाममा सोमरस लिने छु ।’
‘किशुनजीको तर्फबाट अलिकति रकम म बाढीपीडितलाई सहयोग गर्न चाहन्छु, त्यो पनि आदरणीय प्रधानमन्त्रीजीको राहत कोषमा,’ उनले भने, ‘प्रधानमन्त्रीजीले धेरै पत्रकारहरूलाई सहयोग गर्नुभयो, तपाईंलाई पनि याद होस् कि एउटा पत्रकार आएको थियो राहत कोषमा अलिकति भए पनि दिएर गयो ।’

कार्यक्रममा प्रमुख अथिति रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पुरस्कार थाप्दै पाण्डेले देउवालाई पनि बाँकी राखेनन्, उनले भने– ‘देउवाको हातबाट यसअघि सोमरस सेवन गर्ने मौका पाएको थिएँ, आज पुरस्कार पाएको छु, सायद उहाँले पनि यसमा भाग खोज्ने हो कि ?’ विजयकुमारले यसरी बोलिरहँदा प्रधानमन्त्री देउवा भने मुस्कुराइरहेका थिए ।

उनीसँगै अन्य पुरस्कार पाएकाहरूले पुरस्कार ग्रहण गरिरहँदा सहभागीहरुले खासै ताली नबजाएको भन्दै कार्यक्रममा सहभागी भएका पत्रकारहरुको समेत आलोचना गरी पुनः ताली बजाउन लगाए ।
उनले सहभागीहरूलाई सम्बोधन गर्दे भने, ‘यहाँ राजनीतिक दलका नेताहरु बोलिरहँदा तपाईंहरुले ताली पड्काउने अनि यहाँ स्वतन्त्रता सेनानीहरुले पुरस्कार पाइरहँदा चुप लागेर बस्ने ? यो नठान्नुस् कि तपाईंहरू ठुला पत्रकार हुनुहुन्छ र राज्यको चौथो अङ्गसरहको हुनुहुन्छ ।

यति बुझिराख्नुस्– उहाँहरूको संघर्षले मात्र हो आजको अवस्था आएको, त्यसैले फेरि ताली पड्काउनुस र आफूलाई करेक्सन गर्नुस् ।’

‘पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु’

यसैबीच, कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चारक्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उदघाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगतको अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिए ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, ‘नेपालमा मिडिया धेरै छन्, ती आर्थिक रुपमा कमजोर छन्, पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु ।’ अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताए । उदघाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतासँगसँगै मर्यदित बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराई, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललगायतले पत्रकार र त्यसको महत्वबारे आ-आफ्ना धारणा राखेका थिए ।

वीरेन्द्र केएम/घटना र विचार बाट

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्