Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुलाकी राजमार्गका लागि भारतले दियो पहिलो किस्ताको रकम

भारतले हुलाकी राजमार्गअन्तर्गतका १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई झण्डै २४ करोड रुपैयाँ सहयोग दिएको छ । यसअघि, नेपाल र भारत सरकारबीच हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो ।
सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम उसले अग्रिम भुक्तानी गरेको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत मन्जिवसिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७७ भारतीय रुपैयाँको चेक हस्तान्तरण गरे । यो नेपाली रुपैयाँ २३ करोड ७३ लाख ८८ हजार ७ सय ६३ हुन्छ ।

कार्यक्रममा भारतीय राजदूत सिंहले हुलाकी राजमार्ग अन्तर्गतका १० वटा सडक निर्माणका लागि सहकार्य गर्ने अवसर पाएकोमा भारत सरकार खुसी रहेको बताए । नेपालको पूर्वाधार विकासमा आवश्यक लगानी गर्न भारत सधैं तयार रहेको पनि उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा उनले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित सडक निर्माणको काम समयमै सम्पन्न हुने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको आर्थिक सहायतामा बनाउन लागिएको १० वटा सडकमध्ये ९ वटाको ठेक्का दिने काम सम्पन्न भएको र बाँकी एउटाको पनि ठेक्का दिने प्रक्रिया सुरु भइसकेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: Jul 19, 2017

प्रतिक्रिया दिनुहोस्