Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपालको कार्यसमितिमा एमालेका नेता पनि !

काठमाडौ, असार ३० : नव गठित राजपा नेपालले निर्वाचन आयोगलाई बुझाएका कार्यसमितिमा एमालेका नेताहरुका पनि नाम फेला परेको छ । राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । निवेदनसँगै पेस गरेको कार्यसमितिको नामावलीमा अनिता यादव, समिम मियाँ अन्सारी, राजेश्वर महासेठ, कमलेश्वर पुरी, मनमोहन चौधरीको नाम पनि उल्लेख छ ।

राजपा नेपाल छाडेर अनिता यादव, समिम मियाँ अन्सारी र राजेश्वर महासेठ एमालेमा प्रवेश गरिसकेका छन् भने मनमोहन चौधरीले स्वतन्त्र उम्मेदवार भएर नागरिपालिकाको मेयरमा जितेका छन् । त्यस्तै कमलेश्वर पुरीले केन्द्रीय सदस्यबाट राजिनामा दिएका छन् । तर, राजपा नेपालले दल दर्ताका लागि असार २३ गते निर्वाचन आयोगमा निवेदन दिएपछि असार २८ गते बुझाएको कार्यसमिति सदस्यको सूचिमा उनीहरुको नाम पनि समावेश भएको हो ।

राजपा नेपालका सहमहामन्त्री रहेका समिम मियाँ अन्सारी जेठ १३ गते नै सो पार्टीबाट राजिनामा दिएर एमाले पार्टीमा प्रवेश गरेका थिए । राजपा नेपालका कोषाध्यक्ष अनिता यादव भने असार ४ गते सो पार्टी छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेमा अहिले उनीहरुले कुनै जिम्मेवारी नपाएपनि संगठनका लागि सक्रिय भइसकेका छन् ।

राजपा नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले पार्टीमा हुँदै नभएको व्यक्ति कार्यसमितिमा रहनु गलत भएको भन्दै यसलाई सच्याइनुपर्ने बताए । एमालेमा प्रवेश गरिसकेकी नेतृ अनिता यादवले आफूले राजपा नेपाल छाडेर एमालेमा प्रवेश गरिसकेकाले आयोगमा नाम पठाउनु गलत कार्य भएको बताइन् । राजपा नेपालमा राजिनामा समेत बुझाएर आफू कार्यक्रम गरेर नै एमालेमा प्रवेश गरेका हुनाले सो दलसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको प्रतिक्रिया छ ।

त्यस्तै, रुपन्देही जिल्लाका मनमोहन चौधरी जसले असार १४ गते भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदारी दिएर लुम्बनी सँस्कृति नगरपालिकाको मेयरमा जितेका छन् । उनी राजपा नेपालका केन्द्रीय सदस्य हुन् । राजपा नेपालका महासचिव जितेन्द्र सोनलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावमा भाग लिने व्यक्ति राजपा नेपालमा नेता नभएको प्रतिकृया दिएका थिए । तर अहिले राजपा नेपालको केन्द्रीय सदस्यको रुपमा उनको नाम पनि निर्वाचन आयोगमा पठाइएको हो । गोश्वामी पुरी पनि राजपा नेपालको केन्द्रीय सदस्यबाट राजिनामा दिएर स्थानीय तहको चुनावमा सहभागि भएका थिए । राजीनामा दिएका उनको पनि राजपा नेपालको केन्द्रीय सदस्यको रुपमा आयोगमा नाम पठाइएको छ ।

प्रकाशित मिति: Jul 14, 2017

प्रतिक्रिया दिनुहोस्