Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनका लागि २२ बुँदे योजना

काठमाडौं, असार ३०: ‘स्वस्थ वातावरणसहितको काठमाडौं महानगरपालिका’ नारासहित प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनका लागि २२ बुँदे योजना अघि सारिने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार हुने पहिलो नगरसभामा प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अन्य योजना ल्याउँदै हुनुहुन्छ ।

‘क्लिन द सिटी’ अभियान अगाडि सार्दै सहरलाई प्रदूषणमुक्त बनाउने नीति प्रमुख शाक्यले अवलम्बन गर्नुहुने देखिएको छ । योजनाअनुसार महानगरपालिकाले वायु प्रदूषण न्यूनीकरण गर्न आवश्यक नीति तर्जुमा गर्ने र हाललाई महानगरका विभिन्न ठाउँमा प्रदूषणमापन यन्त्र जडान गरिने भएको छ । ब्रुमर, जेट, रूख रोप्ने र ट्रान्सप्लान्ट गर्ने उपकरण खरिद गरी सहर सरसफाइ र हरियालीको व्यवस्था मिलाउने योजना उहाँसँग छन् ।

उहाँले पार्कहरूमा आकर्षक बगैंचासहितको ‘स्कल्प्चर’को व्यवस्था, महानगरका ५० स्थानमा स्मार्ट सार्वजनिक शौचालय र थप ५० स्थानमा घुम्ती शौचालय बनाउने योजना सार्वजनिक गर्र्दै हुनुहुन्छ । महानगरपालिकाले उपत्यकाभित्र वायु प्रदूषणको प्रमुख कारक तत्व सवारी साधनबाट निस्कने धूवाँ भएको हुनाले त्यस्ता गाडीलाई नियन्त्रण गर्ने र कर उठाउने भएको छ । कौसीमा खेतीका लागि महानगरवासीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि छ ।

उहाँले जनस्वास्थ्यलाई सकारात्मक प्रभाव पार्न र घरबाट उत्पादन हुने फोहोर घरमै व्यवस्थापन गर्न भन्दै कौसी खेतीको अवधारणा अगाडि सार्न लाग्नुभएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार हुने पहिलो नगरसभामा प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अन्य योजना ल्याउँदै हुनुहुन्छ ।

टोल–टोल सरसफाइका लागि ‘सफा टोल अभियान’समेत सञ्चालन गरिनेछ । काकाकूल राजधानीको समस्या समाधान गर्न महानगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर यसै वर्षदेखि महानगरवासीका घर–घरमा खानेपानी पुर्‍याउने योजना छ । ‘मेलम्चीबाहेक सिस्नेरी खानेपानी आयोजना र अन्य सम्भाव्य आयोजना प्रारम्भ गरी भविष्यमा हुन सक्ने पिउने पानीको अभाव आपूर्ति गर्न दीर्घकालीन योजना तर्जुमा गरेर काम अगाडि बढाइनेछ”, उहाँको योजनामा लेखिएको छ, ‘खानेपानी अभाव तत्काल समाधान गर्न आकाशे पानीको समुचित व्यवस्थापन गर्न सहरी क्षेत्रको साना वन व्यवस्थापनसम्बन्धी कार्यक्रम ल्याइनेछ।’

काठमाडौंलाई ‘नो मास्क सिटी’ बनाउने महत्वाकांक्षी योजना पनि देखिएको छ । प्रदूषण नियन्त्रण गरेर ‘नो मास्क सिटी’का रूपमा व्यवस्थापन गर्ने योजना छ । नदी किनारामा वृक्षरोपण, पार्क तथा उद्यान व्यवस्थित गर्दै किरानाका सडकमा हरित पेटी निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । जैविक फोहोरबाट बायोग्यास उत्पादन गर्न आवश्यक प्लान्ट स्थापना गर्ने र फोहोरमा निस्कने पदार्थको ‘रिसाइकलिङ प्लान्ट’ स्थापना गर्ने योजना पनि देखिएको छ ।

तरकारी तथा फलफूल बजार, वधशाला र माछामासुका बजारलाई आधुनिकीकरणसँगै व्यवस्थित रूपमा सञ्चालन गराउने र नदीनालाको सरसफाइ तथा संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यसँग आवद्ध गरिने भएको छ । ढलहरूको वर्गीकरण गरी वर्षेपानी ढल र फोहोरमैला ढलका रूपमा छुट्याएर व्यवस्थापन गर्ने योजना पनि छ ।महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनका लागि विशेष योजना ल्याएको र त्यो सम्भव रहेको बताउनुभयो ।

प्रकाशित मिति: Jul 14, 2017

प्रतिक्रिया दिनुहोस्