Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल विदा नेपाली कांग्रेसका संस्थापक नेता रामहरि ‘दाइ’

काठमाडौं : बिहीबार निधन भएका नेपाली कांग्रेसका संस्थापकमध्ये एक मात्र जीवित नेता रामहरि जोशीको पशुपति आर्यघाटमा अन्तिम बिदाई गरिएको छ। बाथरुममा लडेर गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा राजधानीको ग्रान्डी अस्पतालमा बिहीबार साँझ साढे ७ बजे निधन भएको थियो। उहाँ मिर्गौला र मस्तिष्कसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो। २००७ सालमा प्रजातन्त्रका लागि संघर्ष गर्नुभएका उहाँ कांग्रेसमा अन्तिम अवस्थामा पनि सक्रिय रहनुभएको थियो। सर्लाहीको मलंवा पुख्र्यौली घर भएका उहाँलाई कांग्रेसले ‘ज्युँदा सहिद’का रूपमा मान्दै आएको थियो।

कांग्रेसको प्रचार विभागका पूर्वप्रमुख पुरुषोत्तम बस्नेतका अनुसार जोशी कांग्रेसका सस्ंथापक सदस्य हुनुका साथै उहाँले हिमाञ्चल छात्र संघको स्थापना गर्नुभएको थियो। २००७ सालको क्रान्तिको मोर्चा सम्हाल्नुभएका उहाँले २०२८–२९ सालमा बीपी कोइरालासँगै चार वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो।

२०३६ सालमा उहाँको मलंगवास्थित घरमा पुगेर बीपीले मधेसको जनजीवनबारे अध्ययन गर्नुभएको थियो। २०४८ सालमा शिक्षा र पर्यटनमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएका जोशी साहित्यकार पनि हुनुहुन्थ्यो। उहाँका आत्मकथा ‘नेपाली कांग्रेससँग सिकिएका सम्झना’ र ‘अँध्यारोबाट उज्यालो’तर्फ प्रकाशित छन्। उहाँका कृतिमा नोभेम्बर क्रान्ति र २००७ सालको आन्दोलनको दस्तावेज पनि समेटिएको बस्नेतले बताउनुभयो।

पूर्वमन्त्री जयप्रकाश गृप्ताका भनाइमा जोशीले २००७ सालअघि कांग्रेस र उसको क्रान्तिबारे अन्तर्राष्ट्रिय परिचय दिलाउने काम गर्नुभएको थियो। ‘उहाँ नै अन्तर्राष्ट्रिय सम्पर्कका सुत्रधार हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘कांग्रेसलाई आदर्शमा राख्ने पुस्ता नै उहाँ हुन्नुथ्यो। अब एक युगको अन्त्य भयो। अब कांग्रेस सिद्धान्त, आदर्श र व्यवहारशून्य भयो।’ कांग्रेस नेता लक्ष्मण घिमिरेका अनुसार जोशी २००३ सालदेखि कांग्रेसमा सक्रिय रहनुभएको थियो।

‘उहाँले नै राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको एकता गराउनुभएको हो’, नेता घिमिरेले भन्नुभयो, ‘त्यसपछि २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि प्रजातन्त्रको शुद्धीकरण अभियान चलाउने अभियन्ता हुनुहुन्थ्यो।’ बाथरुममा लडेको करिब दुई सातासम्म अल्का अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि आफन्तसँगको सल्लाहमा अस्पतालले एक साताअघि मात्र ग्रान्डीमा रिफर गरेको थियो।

कांग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने:
काठमाडौँ : नेपाली कांग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पु¥याउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । बैठकपछि नेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पु¥याएबापत पार्टीले उच्च सम्मान गर्दै तीनदिनसम्म आधा झण्डा झुकाउनुका साथै शोकसभाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले शान्तिवादी चरित्र, सादकी जीवन र वैचारिकरुपमा पनि पार्टीलाई अघि बढाउन खेलेको भूमिकालाई पार्टीले आगामी दिनमा आत्मसात् गरेर अघि बढ्नसक्नुपर्नेमा जोड दिनुभयो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । रासस

प्रकाशित मिति: Jul 14, 2017

प्रतिक्रिया दिनुहोस्