Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मतलव गर्न छाडेपछि समर्थन फिर्ता लिदै राजपा नेपाल

काठमाडौ, असार ९ : चुनाव वहिष्कारको आन्दोलनमा लागेका राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । राजपा नेपालका सह–अध्यक्ष ह्रदय त्रिपाठीले आज आफ्नो गृहजिल्ला नवलपरासीमा पत्रकार सम्मेलन गरेर नै सरकारबाट समर्थन फिर्ता लिने जनाएका हुन् । असार ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र अनिलकुमार झासँगको छलफलमा असार १४ गतेसम्म केही पनि गर्न नसकिने जनाउ दिएका थिए । सरकारबाट समर्थन फिर्ता लिने तयारी भइरहेको बताए पनि कहिले फिर्ता लिने भने उनले खुलाउन चाहेनन् ।

उनले यति भने, ‘सुरक्षाको नाममा सरकारले मधेशमा गरेको ज्यादतीका कारण आफूहरु सरकारलाई समर्थन दिइरहने अवस्था अब छैन ।’ प्रदेश नम्बर ५ मा थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर निर्वाचन गराउन थालेको भन्दै नेता त्रिपाठीले सुरक्षाकर्मीले ज्यादती गरेको आरोप लगाए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि बैशाख २४ गते राजपा नेपालले माओवादी केन्द्र र काँग्रेससँग तीन बुँदे सम्झौता गरेका थिए । मधेशवादी दलसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा सरकारले उल्टै ज्यादती गरिरहेको उनले आरोप लगाए ।

राजपा नेपालसँग भएको सहमतिहरु आफूले पूरा गर्ने तर असार १४ गतेपछि मात्र कही गर्ने प्रधानमन्त्री देउवाले गरेका थिए । तर, असार १४ गते हुने चुनावलाई विथोल्न राजपा नेपालले आन्दोलनका विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तत्कालिन मधेशी मोर्चाले समर्थन गरेका थिए तर एमालेले चैत २३ गते सप्तरीमा गरेको जनसभाका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएको थियो । सोही निहुँमा मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिएका थिए ।

यति सोही पार्टीका महासचिव जितेन्द्र सोनलले भने, ‘सरकारको यस्तै रवैया रह्यो भने सरकारबाट समर्थन फिर्ता लिन बाध्य हुन्छौँ’ उनले बताए । यद्यपी उनले असार १४ गतेसम्म सरकारलाई कुर्ने बताए । सरकारले पनि असार १४ गतेसम्म मधेशको मागको बारेमा छलफल नगर्ने बताएको छ । सरकारले सवै ध्यान अहिले दोस्रो चरणको चुनावमा लगाएको छ । आन्दोलनको क्रममा प्रहरीको ज्यादती बढ्यो, सुरक्षा थ्रेट कायमै रह्यो भने सरकारबाट समर्थन फिर्ता हुनेसम्मको निर्णय लिने राजपा नेपालका महासचिव केशव झाले बताए ।

 

 

 

 

 

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्