Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिपाठीले भने-‘तराईंबाट सेना फिर्ता लगे हुन्छ राजपाले चुनावमा अवरोध गर्दैन’

नवलरासी:  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का वरिष्ठ नेता हृदय त्रिपाठीले पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अवरोध नगर्ने प्रष्ट पार्नु भएको छ । शुक्रबार बेलाटारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले राजापाले चुनावमा अवरोध सिर्जना नगर्ने भएकाले तराईंबाट सेना फिर्ता गर्न सरकारलाई आग्रह गर्नु भएको हो ।

‘सरकारलाई स्पष्ट हुनुपर्छ हामी निर्वाचन केन्द्रलाई बिथोल्ने काम गर्दैनौ। अरु दलका कार्यकर्तालाई पनि मतदानमा सहभागी हुने अधिकारलाई वञ्चित गर्दैनौँ । निर्वाचनको औचित्यका बारेमा जनतालाई स्पष्ट पार्दै हाम्रा कार्यकर्ता र समर्थकलाई मात्र निर्वाचन बहिष्कार गर्नुस् भनेर अनुरोध गरेका छौं,’ नेता त्रिपाठीले भन्नुभयो,‘ सरकार राजपासँग आतंकित भएर अनावश्यक रुपमा सेना, प्रहरी परिचालन गरेर चुनावलाई व्यारेकिकरण गर्न लागेको छ । हामी चुनावमा अवरोध गर्दैनौँ आजैबाट सरकारले सेना प्रहरीलाई तराई मधेसबाट फिर्ता लगे हुन्छ ।’

पार्टीले सञ्चालन गरेको स्थानीय तह निर्वाचनको अवरोध कार्यक्रमको नेतृत्व लिन दुई साताअघिदेखि गृह जिल्ला नवलपरासी आउनु भएका नेता त्रिपाठीले चुनाव लगत्तै शेरबहादुर देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने खुलासा गर्नु भएको छ । उहाँले सेना प्रहरी परिचालन गरेर तराई मधेसलाई आतंकित बनाउने काम भएको बताउँदै चुनावलाई बिथोल्ने र बुथ कब्जा गर्ने कार्यक्रम पार्टी नरहेको स्पष्ट पार्नुभयो ।
राजपाबाहेक सबै दल चुनावमा गएको र राज्यका सबै अगं मिलेर राजपालाई एक्लो बनाएको अवस्थामा राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारले घेराबन्दीलाई उजागर गरिदिन आग्रह गर्नुभयो ।

उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि आफूहरुले प्रकृया सुरु गरिसकेको जानकारी गराउनु भएको छ । ‘असार १४ गतेको निर्वाचन लगत्तै समर्थन फिर्ताहुन्छ । त्यसका लागि संसदीय दलमा जानकारी दिनेलगायतका प्रकृयाहरु सुरु भइसकेका छन्,’ नेता त्रिपाठीले भन्नुभयो । प्रदेश नम्बर २ लाई एक्लो बनाएर चुनाव गर्न खोजिएको भन्दै नेता त्रिपाठीले भन्नुभयो, ‘त्यहाँको चुनावसम्मको समय सत्ता पक्षको हो । जसरी गराउने हो गराउनुहोस् ।

असोज ३ गतेदेखि हाम्रा दिन आउँछन् । सरकारले त्यो दिन कुरेर बसे हुन्छ ।’ नेता त्रिपाठीले भन्नुभयो, ‘असोज ३ बाट मुलुक ठूलो दुर्घटनामा पर्छ । त्यसका लागि २ नम्बर प्रदेशबाटै आन्दोलनको घोषणा हुन्छ ।’ उहाँले कस्तो आन्दोलन भन्नेबारे असोज ३ नै कुर्नुपर्ने बताउनु भएको छ । आन्दोलनबाट आउने हुने परिस्थितिको जिम्मेवार प्रमुख तीन दल हुने त्रिपाठीको चेतावनी छ । प्रदेश नम्बर ५ को थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर निर्वाचन गराउन थालेको भन्दै नेता त्रिपाठीले राजपासँग आतंकित नहुन सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्