Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेब्रा क्रस नगर्दा २ सय तिर्नुपर्ने व्यवस्था हट्यो, तर अझै छ झन्झट !

काठमाडौं, जेष्ठ ३० : जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्ने पैदलयात्रीबाट ट्राफिक प्रहरीले असुल्दै आएको जरिवानाको व्यवस्था हटाइएको छ ।  सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको गुनासो र विरोध सर्वत्र आएपछि यो व्यवस्था हटाएको हो ।

गृहमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामालाई मन्त्रालयमै बोलाएर उक्त व्यवस्था हटाउन निर्देशन दिएका हुन् । गृहमन्त्री शर्माले रु २०० जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षा दिने काममा जोड दिन आग्रह गरेका थिए ।

गृहमन्त्री शर्माले भने – ‘रु २०० जरिवाना गरेको भरमा जहाँसुकैबाट बाटो काट्ने प्रवृत्तिको अन्त्य हुन सक्दैन । जरिवाना लिने कार्य तत्काल हटाएर जनचेतना जगाउनेतर्फ लाग्नुस् । बरु आधा घन्टा जथाभावी बाटो काट्नेलाई राखेर शिक्षा दिनुस् । जरिवानाले कसैको पनि हित गर्दैन ।’ जेब्रा क्रसिङ छोडी जथाभावी बाटो काट्ने सर्वसाधारणबाट ट्राफिक प्रहरीले दुई सय रुपैयाँ जरिवाना असुल्दै आएको थियो ।

ट्राफिक सचेतना कार्यक्रम जारी राख्दै जरिवाना मात्रै हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जरिवाना नतिर्ने सर्वसाधारण ३ घण्टा ट्राफिकको नियन्त्रणमा रहनुपर्थ्यो । बढ्दो सवारी र सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले गत जेठ १६ गतेदेखि जरिवाना र सजायको व्यवस्था लागू गरेको थियो ।

प्रकाशित मिति: Jun 13, 2017

प्रतिक्रिया दिनुहोस्