Logo
१५ बैशाख २०८१, शनिबार
(June 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रलाई राजेन्द्रको चुनौती : मुखिया र मेयर खान होइन गोली खान आऊ 

राजविराज : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताउनु भएको छ।
राजविराजमा शुक्रबार आयोजित विरोध सभामा सम्बोधन गर्दै महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनताले मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताउनु भएको हो।

ऐन संशोधनबाट मात्र चुनावमा जाने वातावरण नबनेको भन्दै महतोले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगावै संविधान सशोधन गरे चुनावमा सहभागी हुने स्पष्ट पार्नुभयो। गच्छदारले पहिलेदेखि नै धोका दिँदै आएकोमा पछिल्लोपटक उपेन्द्र यादवले समेत मधेसी जनतालाई धोका दिएको आरोप लगाउँदै महतोले यादवलाई चुनावमा होइन, आन्दोलनमा आउन आमन्त्रण गर्नुभयो।

‘मेयर, मुखिया बनेर मलाई खान होइन, जनताको अधिकारका लागि राजपासँग गोली खान आऊ।” अधिकांश समय उपेन्द्र यादवको बिरोधमा बोलेका महतोले भन्नुभयो, ‘आन्दोलनरत छ मधेसी दल मिल्दा मिल्न नसक्ने उपेन्द्र अन्ततः मधेस विरोधी संविधान बनाउने बाबुराम भट्टराईसँग मिलेर मेयर, मुखिया बन्न गए।’

अर्का नेता राजकिशोर यादवले चुनावको मिति स्थगन गरी मधेसको माग सम्बोधन नगरे इतिहासको धारा बदलिने चेतावनी दिनुभयो। जबरजस्ती चुनाव गराए स्थायी राज्य सत्ताविरुद्ध लडाइँ सुरु हुने भन्दै यादवले शान्तिको भाषा नबुझ्ने सरकार र मधेसी जनताको आदेश नमान्ने फोरम नेपालको भविष्य नरहने बताउनु भयो।

राजपाका विरष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवले संविधान स्वीकार्य बनाउन जबरजस्ती गर्न गइरहेको चुनाव भए राष्ट्रको नक्शा बदलिने चेतावनी दिनुभयो। कार्यक्रममा राजपाका उपाध्यक्षहरु नवलकिशोर साह, शेखर सिंह, महासचिव मनिष सुमन, सह महासचिव जयप्रकाश ठाकुर, महिला नेतृ पुष्पा ठाकुर, माधुरी साहलगायतले चुनाव स्थगन गरी संविधान संशोधन गरेर मात्र निर्वाचनको नयाँ मिति तय गर्नु पर्ने माग गर्नुभयो।

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्