Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोले भने ‘संशोधन भए-पनि  चुनाव हुन दिन्नौं’

काठमाडौं । बिपक्षीहरुले राजापाप्रति केन्द्रित हुदै उनीहरुको आन्दोलनलाई दल दर्ता तथा चुनाव चिह्नप्रति तुलना गरिहेकै बेला विहीबार व्यवस्थापिका संसदमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको हो ।

तर राजपाका नेताहरुले ऐन संशोधनले मधेशको माग पुरा नभएको भन्दै निर्वाचनमा सहभागी नहुने बताएका छन् । स्थानीय तह निर्वाचन ऐनको दफा १८ को १ मा दलको तर्फबाट उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम मितिभन्दा कम्तिमा १५ दिन अगावै दलका पदाधिकारीको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने व्यवस्थालाई संशोधन गरी समयसीमा हटाइएको छ । संशोधन विधेयकमा दफा १८ को १ मा रहेको १५ दिन भन्ने शब्दलाई मात्रै झिकेर अरु यथावत राखिएको छ ।

राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले, ‘काम न काजको यो ऐन संशोधन गरिएको छ । यसले मधेशको कुनै पनि माग सम्बोधन गर्ने छैन । सरकारले संविधान संशोधन नगरेसम्म हामी निर्वाचनमा सहभागी हुने छैनौं । हामी निर्वाचन मै सहभागी नभए उम्मेदबारको मनोनयन पत्र बुझाउनुको अर्थ नै छैन ।’

महतोले भने,‘जसले जे गरेपनि हामी निर्वाचन हुन दिन्नौं । संविधान संशोधन भए मात्र मधेशमा निर्वाचन हुन सक्छ । होइन मधेश मधेशमा कुनै शक्तिले निर्वाचन गराउन सक्दैन । सरकारले राजपालाई अल्झाउन यस्ता काम गरेको छ । मधेशमा आन्दोलनको माहोल बन्दै गएको बताउँदै महतोले काठमाडौंबाट मधेश झरेर मधेशीको अवस्था हेर्न सरकारसँग आग्रह गरे । यता संसदको बैठकमा गृहमन्त्री जनार्दन शर्माले ऐन संशोधन भएपछि राजपा निर्वाचनमा सहभागी हुने दाबी गरे ।

 

गाउँ/नगरपालिकाको प्रमुख बन्न मधेसी जनताले आन्दोलन गरेका होइनन्ः राजेन्द्र महतो

उता धनुषा मा बोल्दै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य  महतो गाउँपालिका तथा नगरपालिकाको प्रमुख बन्न र बनाउनका लागि मधेशी जनताले आन्दोलन नगरेको बताउँदै अधिकारका आन्दोलन भएको बताएका छन् ।

उनले मधेशमा ५२ प्रतिशत जनसंख्या रहेको भन्दै त्यसको आधारमा स्थानीय तहको सँख्या बढाउँदै चुनावको वातारण तयार गरिनुपर्ने तर्क गरे । धनुषाको कपलेश्वरमा विहिवार आयोजित कार्यक्रममा उनले मधेशीलाई बन्चित गराएर चुनाव हुन नसक्ने चेतावनी समेत दिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको माग पूरा गर्न गम्भीरता देखाउनु पर्ने समेत ध्यानाकर्षण गराए । नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएको आरोप समेत उनले लगाए ।

मधेशीको नाममा महान नेता बनेका उपेन्द्र यादवले मधेशीलाई धोका दिएको बताउँदै उनले भने, पहिलो सविधानसभा चुनावमा उपेन्द्र यादवले ५३ वटा सिट ल्याउनु भएको थियो, त्यो मत मधेशीले नै दिएको थिए, बाबुराम भट्टराईले होइन, पहाडबाट पनि त्यो मत आएको होइन ।’

मधेशबाट ठूलो नेता बनेका उपेन्द्र यादवले मधेशसँग मिल्नुपर्नेमा बाबुराम भट्टराईसँग मिलेको टिप्पणी गर्द उनले यादवले मधेशीलाई धोका दिएको कारण यसको न्याय अब मधेशी जनताले गर्ने दाबी गरे । उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेश छाडेर गएका गरेको आरोप लगाउँदै उनले अब मधेसमा राजपामात्रै बाँकी रहेको समेत दाबी गरे ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्