Logo
८ बैशाख २०८१, शनिबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, जेष्ठ १७ : घोषित चुनाव पुर्व नै आफना माग पुरा गर्नुपर्ने भन्दै आन्दोलनरत  राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । उम्मेदवारी मनोनयनलाई लक्षित गर्दै जेठ १८ र १९ गते तराई/मधेसका जिल्लाहरुमा आह्वान गरेको आम हड्ताल लगायत तीन दिनको कार्यक्रम स्थगित गरिएको राजपा महासचिव मनिषकुमार सुमनले जानकारी दिए । उनले सरकारले निर्वाचन सारेको र निर्वाचन आयोगले उम्मेदवारी दर्ता मिति सारेकोले जनताको दैनिकीलाई ध्यानमा राख्दै हाललाई आन्दोलन स्थगित गरिएको प्रस्ट पारे । आम हड्तालको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुस तथा प्रदर्शनको कार्यक्रम पनि तोकिएको थियो ।

उनका अनुसार आन्दोलन स्थगनको निर्णय भने अहिले दिउँसो ४ बजे बिजुली बजारमा बस्ने संघीय गठबन्धनको बैठकले अनुमोदन गर्ने छ । निर्वाचनमा सहभागी हुने/नहुनेबारे भने अहिले नै एकीन भइनसकेको सुमनले बताए । संविधान संशोधनलगायत मधेसकेन्द्रित दलहरुले उठाएको माग पूरा नभएको भन्दै गठबन्धनले आन्दोलनको बाटो रोजेको थियो ।

सरकारले राजपासहित असन्तुष्ट दलहरुलाई सहभागी गराउन र मुस्लिम समुदायको रमजान पर्वका कारण देखाउँदै बुधबार स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गतेलाई सारेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मंगलबार राजपा शीर्ष नेताहरुलाई लैनचौरस्थित दूतावास बोलाएर आफ्ना एजेण्डा निर्वाचनमार्फत स्थापित गर्न आग्रह गरेका थिए ।

गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस/थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरिएको थियो । सरकारले असार १४ गतेको लागि निर्वाचन सार्ने निर्णय गरेसँगै निर्वाचन आयोगले आजै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आयोगले असार २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्