Logo
६ बैशाख २०८१, बिहीबार
(May 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छलफलका लागि राजपाका नेताहरु भारतीय दूताबासमा

चुनावकेन्द्रित हुन भारतीय राजदूतको आग्रह

काठमाडौं, जेठ १६: राजपा नेपालका नेताहरु लैनचौरस्थित भारतीय दूताबासमा छलफलका लागि पुगेका छन् ।  राजपाका नेताहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग छलफलका लागि मंगलबार बिहान लैनचौरस्थित भारतीय दूताबासमा पुगेका हुन् । छलफलमा राजपाका नेताहरुले आफूहरुको चाहनाअनुसार चुनावको मिति सारिएको भएपनि अझैं वातावरण बनिनसकेको बताएका थिए ।

तर, भारतीय राजदूत पुरीले मधेसी दलकै चाहनाअनुसार सरकारले चुनावको मिति सारेकाले अब चुनावमा सहभागि भए राम्रो हुने सुझाव दिएका थिए । सिंहको भनाई उदृत गर्दै भेटमा सहभागि राजपाका एक नेताले भने, ‘ राजपालाई चुनावमा सहभागि गराउनकै लागि सरकारले असार ९ गते चुनाव सारेको छ। त्यसलाई सदुपयोग गरेर जाँदा नै मधेसी दललाई फाइदा पुग्न सक्छ ।’

जवाफमा मधेसी नेताहरुले आफूहरु पनि चुनावमा जान तयार रहेको भन्दै मात्रै आफूहरुको माग पूरा हुनुपर्ने मात्रै भनेको बताए ।
मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने, सीमांकन हेरफेर हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या बढाइनुपर्ने, चुनाव चिन्ह पाउनु पर्ने लगायतका माग राख्दै आएको छ । राजपाका शीर्ष नेताहरु सहभागि बैठकमा राजदूतसँग दूतबासमा एक घण्टाबढी छलफल भएको बताइएको छ । राजदूतसँगको छलफलसँगै अब चुनावमा जाने नजाने बारे छिट्टै राजपाका नेताहरुले बैठक बसेर निर्णय लिने बुझिएको छ ।

सिंहले आफूहरुले सुझाव मात्रै दिएको भन्दै कसरी अघि बढ्ने भन्नेमा सुझबुझपूर्ण निर्णय लिन समेत नेताहरुलाई सुझाएका थिए । राजदूत पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अब बन्ने भनिएको सरकार मोर्चाको माग पूरा गर्न तत्पर जस्तो देखिएको समेत बताएका थिए । ‘भारत मधेसको माग पूरा होस् भन्ने चाहन्छ तर लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएकाले त्यसमा सहभागि हुँदा राम्रो हुन्छ’, राजदूत पुरीको भनाई उदृत गर्दै ती नेताले भने, ‘ हामीले अरु भन्न मिल्दैन । सुझाव मात्रै दिने हो तर अब पनि चुनावमा नगए सन्देश नराम्रो जानसक्छ ।’

चुनावकेन्द्रित हुन भारतीय राजदूतको आग्रह

मंगलबार बिहान भारतीय दूतावास लैनचौरमा राजपा शीर्ष नेतालाई बोलाएर राजदूत पुरीले छलफल गरेका हुन् । छलफलमा राजपा अध्यक्ष मण्डलका ६ मध्ये ५ जना सदस्य सहभागी थिए । पुरीले स्थानीय चुनावमा सहभागी भएर आफ्नो राजनीतिक मुद्दा स्थापित गर्न आग्रह गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार राजपाले मागेजस्तै संविधान संशोधन तत्काल सम्भव नदेखिएको भन्दै चुनावपछि पनि आफ्ना एजेन्डाका लागि संघर्ष गर्ने ठाउँ रहेकाले अब चुनावमै केन्द्रित हुन पुरीले आग्रह गरेका थिए ।

‘तर हामीले अहिलेसम्म हाम्रा मुद्दाहरुलाई समर्थन गर्दै आएको भारतले अकस्मात किन ? सत्ता घटकहरुसँग मिल्ने गरी कुरा गर्न थालेको हो भनेर जिज्ञासा राख्यौं’, सहभागी ती नेताले भने, ‘संशोधन नभएको अहिलेकै अवस्थामा चुनावमा जान हामीलाई कठिन छ, यही कुरा हामीले राख्यौं ।’ शीर्षनेता दूतावास जानेकुरा राजपाकै दोस्रो तहका नेताहरुलाई समेत जानकारी दिइएको थिएन ।

भारतीय दूतावासमा महन्थ ठाकुर, शरतसिह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायत गएका थिए ।  सहमतिका लागि कसरत गर्न भन्दै कांग्रेस सभापतिले डाकेको बैठकमा भने जंगीलाल राय, लक्ष्मणलाल कर्ण लगायत सांसद मात्रै पठाइएका थिए ।

 

प्रकाशित मिति: May 30, 2017

प्रतिक्रिया दिनुहोस्