Logo
१३ बैशाख २०८१, बिहीबार
(May 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनमा दुइतिहाइ जुटाउन फेरि कसरत

काठमाडौं, बैशाख,  २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्। थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो।

प्रधानमन्त्रीले आइतबार थापा र गच्छदारसँग छुट्टाछुट्टै कुराकानी गरी सरकारमा आउन आग्रह गरेको स्रोतले बतायो । उनले शनिबार पनि गच्छदारसँग भेट गरेका थिए । उपनेता गिरीले राप्रपा सरकारमा फर्किए पहिलेकै अवस्थाअनुसार सहभागी हुने बताए। ‘हामी फर्कियौं भने अरु मन्त्रालयमा जान्नौं, पहिलेकैमा जान्छौं,’ उनले भने।

स्रोतका अनुसार सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्नुअघि नै प्रधानमन्त्रीले गच्छदार र थाापालाई सरकारमा ल्याउन पहल गरेका हुन् । जेठ पहिलो साता सरकारको नेतृत्व कांग्रेसलाई सुम्पिने तयारी प्रधानमन्त्रीको छ । बालुवाटार स्रोतको अनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्नुअघि नै संविधान संशोधन विधेयक पारित गराउने सोचमा प्रधानमन्त्री छन्। ‘त्यसैले उनले थापा र गच्छदारलाई सरकारमा ल्याउन पहल गरेका हुन्’, स्रोले भन्यो ।

प्रधानमन्त्री र थापाबीच आइतबार बिहानको वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन्। प्रधानमन्त्रीसँगको वार्तापछि थापाले ट्विट गरी सरकारमा जाने संकेत गरेका छन्। उनले लेखेका छन्, ‘जुन विषयमा असन्तुष्टि जनाएका थियौं, सोही विषयमा सर्वोच्चले अघि नबढाउन भनिसकेपछि सरकारबाट बाहिरिनुको औचित्य रहेन ।’

सत्तारुढ कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि त्यसमा असहमति जनाउँदै गत वैशाख १८ गते राप्रपाले सरकार छाडेको थियो। प्रधानमन्त्रीले भने राजीनामा दिएको पाँच दिनसम्म पनि राप्रपाका मन्त्रीहरूको राजीनामा स्वीकृत गरेका छैनन्।

राप्रपा संसदीय दलका उपनेता दिलनाथ गिरीले पनि राप्रपा सकारमा जाने संकेत गरे। उनले भने, ‘हामीले जुन अजेन्डा उठाएर राजीनामा दिएका थियौं, त्यसमा हामी सही देखियौं, सर्वोच्चको निर्णयले हामी ठीक थियौं भन्ने सावित भयो,’ उनले भने, ‘त्यसैले अब हामी सरकारमा आउन सक्ने सम्भावना रह्यो।’

स्रोतका अनुसार सरकारबाट राजीनामा दिएको घोषणा गरेका दीपक बोहोरा, विक्रम पाण्डे र गिरी राप्रपा पुनः सरकारमा जानुपर्ने पक्षमा छन्। प्रधानमन्त्री पनि राप्रपालाई सरकारमा ल्याएर स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउन चाहन्छन्। थापाले पाउने मर्यादाक्रमको विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ ।

उपनेता गिरीले राप्रपा सरकारमा फर्किए पहिलेकै अवस्थाअनुसार सहभागी हुने बताए। ‘हामी फर्कियौं भने अरु मन्त्रालयमा जान्नौं, पहिलेकैमा जान्छौं,’ उनले भने। नागरिकमा समाचार छ । यसैगरी फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले पार्टीले उठाएका अजेन्डामा प्रधानमन्त्रीले प्रतिबद्धता जनाए पार्टी सरकारमा जाने बताए ।

‘त्यसो भए हामी भोलि (सोमबार) नै सरकारमा जान सक्छौं,’ चौधरीले भने। सरकारमासम्मानजनक हैसियत पाउने अवस्थामा पार्टी सरकारमा जाने उनले बताए । स्रोतका अनुसार गच्छदारले एक उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउने भएका छन् । नयाँ बन्ने सरकरमा पनि पार्टी सहभागी हुने सर्तसहित फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुन लागेको फोरम लोकतान्त्रिकका नेताहरूले जनाएका छन् ।

‘अब बन्ने नयाँ सकारमा पनि हाम्रो उपस्थिति निरन्तर हुने गरी हामी सरकारमा जान सक्छौं,’ चौधरीले भने । गच्छदारलाई सरकारमा ल्याउन माओवादी केन्द्रले सरकारमा पाएको सञ्चार या अरु कुनै एक मन्त्रालय माओवादी छाड्न तयार रहेको बालुवाटार स्रोतको भनाइ छ । गच्छदारले दाहाल प्रधानमन्त्री भएदेखि नै सरकारमा आउने इच्छा राख्दै आएका थिए तर प्रधानमन्त्रीले भने विभिन्न कारण देखाउँदै आलटाल गरिरहेका थिए।

प्रकाशित मिति: May 8, 2017

प्रतिक्रिया दिनुहोस्