Logo
१० असार २०८२, मंगलबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जवरजस्ती चुनाव गर्न खोजिए मधेसमा रक्तपात हुने’

वीरगञ्ज, २४ चैत  : मधेशी मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जवरजस्ती चुनाव गर्न खोजिए मधेसमा रक्तपात हुने चेतावनी दिएका छन् ।

पर्साको पोखरियामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले मधेसीको माग उपेक्षा गरि सरकारले मधेसमा स्थानीय तहको निर्वाचन गर्न खोजे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।

संविधान संशोधन विना मधेसमा स्थानीय तहको चुनाव हुनै नसक्ने उनले ठोकुवा गरे ।

मधेसी मोर्चाको मुख्य बटमलाईन सिमांकन रहेकोले सिमाकंन विना कुनै पनि सम्झौता नहुने उनले स्पष्ट पारे । चैत मसान्तसम्म आफूहरुले “पर्ख र हेर” को नीति लिएको भन्दै उनले माग पुरा नभए वैशाखको पहिलो हप्तादेखि नै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । ‘मधेस विना देशको कल्पना गर्न सकिँदैन ।

तर मधेसी जनताको हक अधिकारको सवालमा एमाले, कांग्रेस र माओवादी केन्द्रको नियत ठिक देखिएको छैन्’ उनले भने ‘मधेसी मोर्चाले उठाएको माग संबोधन नगरेसम्म सरकारले मधेसमा कुनै पनि गतिविधि गर्न खोजे मधेसी जनताले गर्न दिँदैनन् । ’

कार्यक्रममा एमालेका २ सय ५० जना भन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेको तमलोपाका पर्सा सचिव श्रीरामजी गिरीले दावी गरे । कार्यक्रमलाई तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री चन्दा चौधरी, वीरगंजका पूर्व मेयर तथा पार्टी प्रवक्ता विमल श्रीवास्तव, सांसद रमेश पटेल, केन्द्रीय सदस्य शशिकपुर मियाँ, जनार्दन यादव, तराई मधेस युवा फ्रन्टका सह महासचिव देवानन्द यादव लगायतका नेताहरुले संवोधन गरेका थिए ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्